कर्णालीमा मंसिर महिनामा राष्ट्रिय नाटक महोत्सव हुँदै


१३ असोज, सुर्खेत । आगामी मंसिर ६ देखि १० गते (५ दिन) सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । महोत्सवमा सातै प्रदेश बाट २/२ वटा र सुर्खेतबाट थप १ नाटक समावेस हुने आज (आइतवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कार्यक्रममा राष्ट्रिय सांस्कृतिक संस्थान नेपालका महाप्रबन्धक राजेश थापाले कर्णाली प्रदेशमा जारी रारा कर्णाली पर्यटन बर्ष २०७५लाई टेवा पुग्ने गरि महोत्सवको आयोजना गर्न लागेको र यस्कालागि कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकार संग समन्वय गरिरहेको जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन ३ वटा नाटक प्रस्तुत गर्ने र सहआयोजक सुर्खेतबाट १ नाटक थप प्रस्तुत हुने महाप्रवन्धक थापाले बताउनुभयो । थापाका अनुसार महोत्सव आयोजना गर्नकालागि कूल लागतको आधा रकम संस्थानले व्यहोर्ने र बाँकी खर्च स्थानीय आयोजकले व्यहोर्ने गरि महोत्सवको आयोजना हुन लागेको हो ।

सुर्खेतका रंगकर्मीहरुको उद्देश्य प्रदेश राजधानीमा थिएटर नभएकाले महोत्सवले केही भएपनि सुर्खेतमा नाटक मञ्चन गर्नकालागि थिएटर बनाउन सहयोग पुग्ने आश रहेको महोत्सवका सहआयोजक आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमले जानकारी दिनुभयो ।

यसैविषयमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई महोत्सवको बारेमा जानकारी गराइएको र प्रदेश सरकार सकारात्मक रहेको सहआयोजक आरंग नेपालका अध्यक्ष गौतमले बताउनुभयो ।

महोत्सवमा न्यूनतम दरका टिकटहरु राखिने सहआयोजक आरंग नेपालले जनाएको छ ।