राप्रपा र सरकार वीच वार्ता


१० वैशाख, काठमाडौं । हिन्दुराज्य लगाएतका २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज (मंगलबार) वार्ता भएकोछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा सैद्धान्तिक विषयमा छलफल नै नगरी तथा वार्ताको अर्को मिति नतोकेर सकिएको छ ।

वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागहरुमा पुनर्विचार गर्न आन्दोलनरत राप्रपालाई आग्रह गर्नुभएको छ ।

उहाँले राप्रपालाई संविधानमा भएका व्यवस्थामा सरकारले सम्झौता नगर्ने र संविधानको व्यवस्था अतिक्रमित हुने खालका मागहरुमा पुनर्विचार  आग्रह गर्नुभएको ह्यव ।

राप्रपाका वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको जानकारी दिनुभयो । हामीले आजको पहिलो वार्तामा २२ बुँदे मागका बारे कुरा राख्यौं, धर्म निरपेक्षता खारेजी, गोलमेच सम्मेलनजस्ता नीतिगत विषयमा पुनः छलफल गर्ने सहमति भएको छ’ बोहोराले भन्नुभयो ।

राप्रपाले सरकारसँगको वार्तापछि आफ्ना आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ ।