प्रदेशस्तरीय सङ्गोष्ठीको तयारी तिब्र


२२ वैशाख, सुर्खेत । नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोग तथा सुर्खेती कल्याण समाज काठमाडौंको आयोजना र सुर्खेत स्थित साहित्यिक संघ संस्थाको सहकार्यमा यही वैशाख २७ र २८ गते सुर्खेतको वीरेन्द्रनगरमा हुन गइरहेको कर्णाली प्रदेशस्तरीय वाङ्मय संगोष्ठीको तयारी तिब्र रुपमा भइरहेको बताइएको छ ।

आज एक पत्रकार सम्मेलनको आयोजना गरी सुर्खेती कल्याण समाजका सभापति प्रा.डा. जीवेन्द्रदेव गिरीले यस्तो जानकारी दिनुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको २ लाख ५० हजार आर्थिक सहयोग रहने बताउँदै प्रा.डा. गिरीले स्थानीय सरकार तथा प्रदेश सरकारले समेत सहयोग गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनु भएको छ ।

सङ्गोष्ठीमा कर्णाली प्रदेशका लोकवार्ता विषयमा प्रा.डा. चुडामणी बन्धु, कर्णाली प्रदेशमा गद्य साहित्यको वर्तमान अवस्था र भावी दिशा डा. दीपक गौतम, कर्णाली प्रदेशमा प्रचलित शैव, वोन र बौद्ध धर्म दर्शनको परम्परा विषयमा बिष्णुप्रसाद पराजुली, नेपाली कवितामा कर्णाली प्रदेशको योगदान विषयमा प्रा. जगत्प्रसाद उपाध्याय र कर्णाली प्रज्ञा प्रतिष्ठानको आवश्यकता र सम्भावना विषयमा प्रा. डा. जीवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गरिने कार्यक्रमका संयोजक समेत रहनु भएका प्रा. डा. गिरीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

यही वैशाख २७ र २८ गते सुर्खेत क्याम्पस शिक्षाको ठूलो हलमा हुने उक्त सङ्गोष्ठीका अवसरमा वैशाख २७ गते साँझ मध्यपश्चिमाञ्चल गजल मञ्चको सहकार्यमा गजल साँझ हुनेछ भने २८ गते कर्णाली प्रदेश सबै जिल्लाहरुको प्रतिनिधित्व हुने गरी प्रदेशस्तरीय कवि गोष्ठीसमेत हुने प्रा.डा. गिरीले बताउनु भयो ।

कार्यक्रम समापन हुनु अगाडि वीरेन्द्रनगर घोषणा पत्र २०७६ जारी हुने समेत आयोजकको भनाई छ । कार्यक्रमको बीच बीचमा सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।