२६ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य बजारमा हर्न बजाउन निषेध गरिएको छ ।
वीरेन्द्रनगर बजारको मंगलगढी चौक देखि गणेश चौक सम्म र पूरानो वीरेन्द्रनगर चौक बाट ऐरी चौक सम्म हर्न बजाउन निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुर्खेतका प्रमुख प्रहरी निरिक्षक हरिबहादुर विसीले जानकारी दिनुभएको छ ।
बैशाख २५ गते देखि हर्न बजाउन निषेध गरेका छौ । निरिक्षक विसीले भन्नुभयो । २५ गतेबाट आगामी जेठ १० गते सम्म सचेतना दिने र त्यसपछि पनि अटेर गरि हर्न बजाउने सवारी चालकहरुलाई जरिवाना गरिने बताउनुभयो ।
हर्न निषेध गरिएपछि ध्वनी प्रदुषण, तिब्रगतिमा कमी आई दुर्घटना नियन्त्रणमा कमि हुने विश्वास रहेको निरिक्षक विसीले भन्नुभयो । त्यस्तै अब देखि मोटरसाइकलमा सवारी पछाडी बस्ने यात्रुले समेत हेल्मेट लगाउनुपर्ने भएको छ । मोटरसाइकल चालक मात्र नभएर पछाडी बस्ने यात्रको समेत सुरक्षाकालागि यो कार्यक्रम लागु गरिएको र यो कार्यक्रमकालागि भने ६ महिना सम्म सचेतना अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै चालक र सहचालकहरुले पनि रातको समयमा फ्लोरेन्स ज्याकेट लगाउनु पर्ने भएको छ । रातीको समयमा सवारी विग्रेको अवस्थामा चालक तथा सहचालकले बाटो मै सवारीको काम गर्नुपर्ने भएकोले सुरक्षित तथा सर्वसाधारणहरुले सजिलै पहिचान गर्नकालागि फ्लोरेन्स ज्याकेट लगाउन अनिवार्य गरेको हो र यस्कालागि १ महिनाको सचेतना अभियान शुरु गरिएको निरिक्षक विसीले बताउनुभयो ।
त्यसैगरि लामो दुरीको सवारी साधनमा २ जना चालक पनि अनिवार्य लागु गरिएको उहाँले जानकारी दिनुभयो । यस्कालागि ट्राफिक प्रहरीले Traffic Communication App को पनि शुरुवात गरेको छ यो एप्सले लामो दुरीका सवारीहरुमा दुईजना चालक छ कि छैन भनि पत्ता लगाउने र लाइसेन्सहरुमा नक्कली फोटो राख्ने प्रवृतिको अन्त्य हुने निरिक्षक विसीले भन्नुभयो ।
त्यस्तै विगत करिव ४ महिनाबाट सवारी चलाउँदा अनिवार्य जुत्ता लगाउनुपर्नेमा पनि अभियान चलाइरहेको उहाँले जानकारी दिनुभयो ।




Milan Shrestha । २६ बैशाख २०७६, बिहीबार १८:४७ बजे