पलाँताको खाडा बस्ती पुनःनिर्माणमा


मनिराज पाण्डे
३ जेठ, कालिकोट । स्थानीय सरकारले गत पौष ८ गते राती पलाँता १ को खाँडा बस्तीमा भएको आगलागी बाट जलेर नष्ट भएका सबै घर पुनः निर्माण गर्न थालेको छ ।

प्रदेश सरकारले १ करोड ६० लाख खाडा बस्ती पुनः निर्माणका लागि बजेट पठाए पछि खाडा बस्ती पुनः निर्माण गर्न लागिएको हो । बस्ती पुनः निर्माण गर्न ३२ घरधुरीका लागि प्रती घरपरिवार ५ लाखका दरले प्रदेश सरकारले बजेट पठाएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।

भोकमारी, अनिकाल, आगलागी, बाढीपहिरो जस्ता समस्याहरुबाट ग्रसित पलाँतामा तत्काल राहत तथा उद्दारका कार्य गर्न स्थानीय सरकारले बिपद् ब्यवस्थापन कोष संचालन तथा ब्यवस्थापन कार्यविधि २०७५ जारी गरेको नि.प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले जानकारी दिनुभयो ।

खाडा बस्ती आगलागी हुँदा राहत वितरण तथा ब्यवस्थापनमा समस्या देखिएपछि स्थानीय सरकारले कार्यविधि बनाएर ब्यवस्थापन गर्न थालेको वडा नं. ६ का अध्यक्ष रुपबहादुर रोकायाले बताउनुभयो ।

पलाँताका सबै वडामा बिपद् ब्यवस्थापन समिति गठन

पलाँता गाउँपालिकाले पलाँताका सबै वडामा वडा स्तरिय बिपद् ब्यवस्थापन समिति गठन गरेको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताउनुभयो । बिपद् जतीसुकै बेला आउन सक्ने भएकाले डिएमसिडीडी परियोजनाको सहयोगमा सबै वडामा बिपद् ब्यवस्थापन समिति गठन गरिएको छ ।

गाउँपालिकाले खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५, बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ र बिपद् ब्यवस्थापन कोष संचालन तथा ब्यवस्थापन कार्यविधि २०७५ गाउँकार्यपालिका बैठक बाट पास गरेको छ ।