बन्द उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग मन्त्रालय


बन्द उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग मन्त्रालय

गुराँस आत्रेय

काठमाडाै‌ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सरकारी उद्योग सञ्चालनका लागि पहल थालेका छन् । सरकारी उद्योग र संस्थानहरुको अध्यक्ष र महाप्रवन्धकहरुसँग दुई दिन अन्तक्रिया गरेका उनले सरकारी उद्योग सञ्चालनको तयारी थालेका हुन् ।

छलफलमा सरकारी संस्थानका प्रमुखहरुले उद्योग निजीकरण गर्न नहुने भन्दै लिजमा सञ्चालन गर्न दिनु पर्ने बताएका थिए ।

विदेशीहरु सहयोग गर्न तयार भए पनि राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र उर्जाको अभाव लगायतका कारण बन्द भएका सरकारी उद्योगहरु सञ्चालन गर्ने उद्योगमन्त्री पाण्डेयको तयारी छ ।

उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट उद्योग घाटामा चलिरहे पनि बिराटनगर जुट मिल, गोरखकाली रबर उद्योग, वीरगञ्ज चिनी कारखाना, कृषि औजार लिमिटेड, जनकपुर चुरोट कारखाना, हेटौडा कपडा उद्योग, नेपाल मेटल कम्पनी, नेपाल औषधी लिमिटेड, बुटवल धागो कारखाना, ओरिएण्ट म्याग्नेसाइट जस्ता उद्योग बन्द छन् ।

बन्द उद्योगहरु सरकारले वा कुनै उपयुक्त मोडेलमा निजी क्षेत्रले सञ्चालन गर्न सकेमा रोजगारी सँगै देश आत्मनिर्भरताको बाटोमा अगाडी बढ्ने भन्दै उद्योग सञ्चालनको लागि अन्य मन्त्रालय सँग समन्वय गरि उपयुक्त मोडेल तयार पार्न उद्योग मन्त्रालयले काम सुरु गरेकोे मन्त्री पाण्डेयको निजी सचिवालयले जनाएको छ ।

मन्त्री पाण्डेयले छलफलमा सरकारले उद्योग व्यवस्थापन समिति र महाप्रवन्धकलाइ उद्योग जिम्मा दिए पनि काम नगरेकाले अहिलेको अवस्था आएको भन्दै नयाँ उपयुक्त मोडेलको निर्माण गर्न आवश्यक रहेको बताएका थिए ।

सस्थानहरुका प्रमुख र बिभिन्न चरणमा भएका उद्योगी व्यवसायीहरुसँग भएको छलफल र अन्तक्रियाको आधारमा उपयुक्त मोडेलमा उद्योग सञ्चालन गर्न उद्योग मन्त्रालयले काम सुरु गरेको सचिवालयले जनाएको छ ।

प्रत्येक प्रदेशमा कम्तिमा एकहजार विगाहाका एक/एक वटा औद्योगिक क्षेत्र स्थापना गर्ने अभियान थालेका उद्योगमन्त्री पाण्डेयले अहिले यो काम अन्तिम चरणमा पुगेको बताए ।

देशको उत्पादन निर्यात गर्ने उदेश्यका साथ स्थापित विशेष आर्थिक क्षेत्र (शेज) सञ्चालनको कार्यबिधिमा समस्या भई निर्माण पछि पनि उद्योगीहरु आर्कषित हुन नसकेकाले अहिले उद्योगमन्त्रालयले कार्यविधी सम्सोधन गरि काम अगाडि बढाएको छ । जसको कारण उद्योगीहरु उत्साहित भएर शेजमा जग्गा प्राप्तीको लागि निवेदन दिन थालेका छन् ।

अमेरीकाले तयारी पोसाकमा दिएको सहुलियतलाई उपयोग गर्न उद्योगमन्त्रालयले सिमरामा तयारी पोसाककै लागि निर्माण गर्न लागेको र यसका लागि काम भइरहेको उद्योगमन्त्री पाण्डेयले बताए । औद्योगिक क्षेत्र र शेजको पूर्ण सञ्चालन भए दश लाखभन्दा बढिले रोजगार पाउने छन् ।

यस्तै खानी तथा प्रट्रोलियम अन्वेषणमा केन्द्रित भएको जनाएको मन्त्रालयले “खनीज हाम्रो सम्पत्ती सदुपयोगमा छ उन्नती” भन्ने नाराका साथ काम अगाडी बढाएको जनाएको छ । नेपालमा प्रट्रोलियम लगायत सुन, फलाम, तामा, लाइमस्टोन लगायतको ठूलो भण्डारण रहेका बेलाबेलामा समाचाहरु आउने गरे पनि कहाँ र कति छ भन्ने कुरा प्रमाणीत नभएकाले उद्योगमन्त्रालय आउँदो तीन वर्ष भित्र देशभरी कहाँ कुन कुन खानी कति परिणाममा छ पत्ता लगाई व्यवसायिक फाइदा हुने ठाउँमा उत्खनन् सुरु गर्ने योजनामा रहेको मन्त्री पाण्डेयले जानकारी दिए ।

प्रट्रोलियम अन्वेषणको लागि मन्त्री पाण्डेय दैलेख जिल्लामा दुई पटक पुगेर दैलेख घोषणा जारी गरेर काम थालेका छन् । उद्योग मन्त्रालयकै पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकोे क्रममा सरकारले चीनसँग प्रट्रोलियम अन्वेषण सम्बन्धी सम्झौता गरे अनुसार चिनीयाँ टोली नेपाल आएर सम्भावित स्थानको स्थलगत अध्ययन गरिरहेको छ ।

साभारः बाह्रखरी अनलाइन