यौन हिंसा कम गर्नकालागि आत्मरक्षा तालिम


१६ जेठ, सुर्खेत । पछिल्लो समय महिला तथा बालवालिकामाथी हिंसाका घटनाहरु बढ्दै गइरहेको भन्दै महिला तथा किशोरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको छ ।
महिला तथा किशोरीहरुमाथि हुने यौन हिंसाका घटनाहरु कम गर्न विश्व खाद्य कार्यक्रमले बिहीवार वीरेन्द्रनगरमा आत्मरक्षाको तालिम आयोजना गरेको छ । तालिममा आफु माथि हिंसा कसरी हुँदैछ भनेर थाह पाउने तरिका, आक्रमणबाट बच्नको लागि मानसिक रुपमा कसरी तयारी हुने तथा घटनाबाट कसरी सुरक्षित हुने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा फाइटब्याकका प्रमुख प्रशिक्षक उत्तम थापा मगरले किशोरी तथा महिलाहरुले हिंसा बाट बच्नको लागि सुरक्षित हुने उपायहरुको बारेमा प्रयोगात्मक रुपमा प्रशिक्षण दिएको बताउनुभयो । ‘आफुमाथि हुने आक्रमणको प्रतिकार गर्न सकेमा हिंसाबाट बच्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘हामीले हिंसाको प्रतिकार गर्न मानसिकसँगै शारीरिक रुपमा तयार कसरी हुने भनेर सिकाएका छौ ।’
तालिममा अर्का प्रशिक्षक अरमान पाण्डेले मद्दत मागेको २० सेकेण्डमा मद्दत नपाउने ठाउँहरु हिसांको उच्च जोखिममा रहेको बताउनुभयो । संस्थाले विभिन्न ठाउँका स्कुल कलेज तथा संस्थाहरुमा आत्मरक्षाका तालिमहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
तालिमका सहभागी दलित महिला संघ सुर्खेतका सचिव खगिसरा वलीले ग्रामीण स्तरमा यस्ता खालका तालिमहरु सञ्चालन गरेमा हिंसाका घटनाहरु केही हदसम्म कम हुने बताउनुभयो । तालिममा कर्णाली र सुदूरपश्चिम प्रदिेशका विभिन्न संस्थाहरुमा आवद्ध महिलाहरुको सहभागिता रहेको छ ।