
सुर्खेत ।
जिल्ला प्रशासन कार्यालयले दशैं सकिएपनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । बजार अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला पाउरोटी उद्योग मापदण्ड विपरित संचालन भइरहेकोले ताला लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माको नेतृत्वमा वीरेन्द्रनगर नगरपालिका, राष्ट्रिय उपभोक्त मञ्च, खाद्य गुणस्तर तथा नापतौल विभाग, नेपाल प्रहरी र पत्रकारहरु समेतको टोलीले उक्त उद्योगको अनुगमन गरेको थियो ।
अनुगमनमा क्रममा पाउरोटी उत्पादन कक्षमा सरसफाइ नभएको, कामदारहरुले मापदण्ड बमोजिमको सरसफाइ नगरेको, उनीहरुलाई मापदण्ड अनुसारको पोशाक नभएको उत्पादन भएका बस्तुहरु समेत सफा र सुरक्षित ढंगले भण्डारण नगरेको पाइएको थियो । जसका कारण उद्योग संचालकलाई मापदण्ड पूरा गर्न भन्दै उद्योगमा शिलबन्दी गरिएको हो ।
पछिल्लो समयमा वीरेनद्रनगर बजारमा अनुगमनले तिब्रता पाएको छ । दशैं तिहारको समयमा खाद्यवस्तुमा अखाद्यवस्तुहरु मिसावट गर्ने, मिठाई लगायतका खाद्य वस्तुमा विभिन्न रंगहरु मिसाउने, सरसफाइमा समेत ध्यान नदिने र झिंगा तथा किराहरु भेटिने गरेका छन् । प्रत्यक्ष रुपमा जनस्वास्थ्यमा असर हुने काम गर्न पाइँदैन । तर सुर्खेतमा व्यापारलाई मध्यनजर गरि राम्रो र सुन्दर देखाउनका लागि खाद्यवस्तुमा मिसावट हुने गरेको पाइएको छ ।
यसैगरि उपभोग्य समय सीमा समाप्त भएका खाद्यवस्तुहरु पनि बिक्री वितरण हुने भएकोले त्यसलाई निर्मूल पार्नका लागि अनुगमनलाई निरन्तरता दिने र मापदण्ड विपरित कार्य गर्नेहरुका पसल तथा उद्योगहरुमा शिलबन्दी गरिने प्रशासकीय अधिकृत उत्तम शर्माले बताए । दशैं तिहार विशेष बजार अनुगमन हुने गरेको भन्दै गुनासो आउने गरेको भएपनि उपभोक्ताको हित र अधिकारलाई मध्यनजर बजार अनुगमन निरन्तरता दिने प्रशासकीय अधिकृत शर्माले
बताए ।
खाद्य वस्तुमा मात्र नभई अन्य वस्तु र मूल्यको समेत अनुगमन गर्नुपर्ने माग भइरहेको छ । विशेष गरि तयारी पोशाकमा उपभोक्ताबाट चर्को मूल्य असुल गरेको गुनासाहरु आउने गरेको छन् । अर्कोतिर खुला बजारमा भएका चाट तथा पानीपुरीका ठेलाहरु समेत अनुगमन गर्न जरुरी छ । विशेष गरि युवा समूहले सर्वाधिक रुपमा रुचाउने गरेको चार्ट र पानीपुरीमा समेत अखाद्यवस्तुको मिसावट हुने गर्दछ । जसले मानव स्वास्थ्यमा दीर्घकालिन रुपमा असर गर्दछ ।
साभारः क्वीकखबर ।



Milan Shrestha । २७ आश्विन २०७६, सोमबार २०:२२ बजे