विद्यालयमा लागुपदार्थ दुर्व्यवसन अभिमुखिकरण कार्यक्रम


४ मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १० स्थित राष्ट्रिय आधारभुत विधालयमा लागुपदार्थ दुर्व्यवसन अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

विद्यार्थीहरुलाई लागु औषधको विषयमा जानकारी दिई दुर्व्यवसन मुक्त समाज निर्माणको लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

वीरेन्द्रनगर १० को वडा कार्यालयको आर्थिक सहयोगमा चन्द्रनगर युवा क्लवले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वडा नं.१० का वडा अध्यक्ष्। रत्नबहादुर बुढाले लागुपदार्थ दुर्व्यवसनीलाई न्युनिकरण गर्नका लागि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताउँदै उहाँले वडामा रहेका टोल विकास संस्थाका पदाधिकारीहरु तथा विद्यालयका बालबालिकाहरुका लागि अभिमुखिकरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहजिकरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले विद्यार्थी उमेरमा साथीहरुको गलत संगतमा फस्ने सम्भावना रहेको भन्दै अभिभावकहरु यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले हरेक विद्यालयहरुमा यस्ता सचेतनामुलक कार्यक्रमलाई अभियानकै रुपमा लानुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशका प्रहरी सहायक निरीक्षक निलकण्ठ ढकालले लागुपदार्थको दुर्व्यवसनीबाट बच्न सकिने उपायहरुको बारेमा सहभागीहरुलाई जानकारी दिनुभयो ।

कार्यक्रममा चन्द्रनगर टोल विकास संस्थाका अध्यक्ष मनोहर आचार्यले वडा नं.१० लाई लागुपदार्थ दुर्व्यवसन मुक्त बनाउने अभियानमा आफुहरु निरन्तर लागिरहने प्रतिवद्धता जनाउनुभयो । लागुपदार्थ दुर्व्यवसनीले समाजमा नकारात्मक असर पार्ने भन्दै उहाँले यसको नियन्त्रणको लागि लागिपरेको बताउनुभयो । अभियानको क्रममा वडाका विभिन्न विद्यालय तथा मदरसा विद्यालयमा समेत कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।