सुर्खेत पूर्ण सरसफाई युक्त जिल्ला


skt 1सुर्खेत, ३० असार । सुर्खेतलाई आउँदो ५ वर्षभित्र पूर्ण सरसफाई युक्त जिल्ला बनाउने अभियान संचालन भएको छ ।२०७६ सालभित्र सुर्खेतलाई पूर्ण सरसफाई युक्त जिल्ला वनाउन अहिले टोलस्तरदेखि सरसफाइका अभियान थालिएको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले जनाएको छ ।

क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतको अगुवाईमा सरकारी र गैरसरकारी निकायहरुले अभियान थालेको बताएको छ । ५ वर्षलाई तीन वटा चरणमा विभाजन गरेर अभियान थालिएको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आवेद हुसेनले वताउनु भयो ।

पहिलो चरण अन्तर्गत २०७३÷७४ मा प्रत्येक गाविसको कम्तिमा एउटा वडा, नगरपालिकामा रहेका २५ प्रतिशत वडाका साथै जिल्लाका सवै सरकारी र गैरसरकारी कार्यालयलाई पूर्ण सरफाई युक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम छ । दोस्रो चरण अन्तर्गत २०७४÷७५ मा सुर्खेतका ३० वटा गाविसहरु र नगरपालिकाका वाँकी ५० प्रतिशत वडाहरु पनि पूर्ण सरसफाई युक्त घोषणा गर्ने कार्यक्रम रहेको छ ।

अभियानको तेस्रो चरण अन्तर्गत अर्थात २०७५÷७६ मा १० वटा गाविस र नगरपालिकाका वाकी २५ प्रतिशत वडालाई सरसफाई युक्त घोषणा गरी जिल्लालाई नै पूर्ण सरसफाई युक्त घोषणा गरिने वताएको छ । पूर्ण सरसफाई युक्त घोषणा गर्नको लागि चर्पीको प्रयोग, व्यक्तिगत सरसफाई, न्युनत्तम सुरक्षित पानीमा पहुँच तथा प्रयोग जस्ता आधारभुत सुचकहरु पुरा गर्नुपर्ने एसएनभी नेपालका लेखविक्रम शाहले वताउनु भयो ।

उहाँले सफा र स्वच्छ आगन तथा बातावरणिय सरसफाइ जस्ता ५ वटा आधारभूत सुचकहरु पुरा गरेर मात्र पूर्ण सरसफाई युक्त घोषणा गर्न सकिने उल्लेख गर्नुभयो । वीरेन्द्रनगरमा भएको कार्यक्रममा सुर्खेत जिल्लाको प्रतिष्ठा र समृद्धि, पूर्ण सरसफाई युक्त हाम्रो जीवन पद्धति भन्ने मुला नाराका साथ अभियान थालिएको बताएको छ ।

बातावरणिय सरसफाई सम्वन्धी कार्यक्रममा अधिवक्त दुर्गा प्रसाद सापकोटाले जथाभावी रुपमा फेहर मैला गर्नेलाई ५ सय देखि ५ हजार रुपैयासम्म जरिवान र १५ दिनदेखि ३ महिनासम्म कैद हुने व्यवस्था रहेको वताउनु भयो । यस्तै फोहरमैला व्यवस्थापन गर्न नदिने र गर्नेलाई पनि ५ हजारदेखि ५० हजार रुपैयासम्म जरिवान र ९० दिनसम्म कैद हुने कानुनी व्यवस्था रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरुले सुर्खेतलाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने अभियानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

साभारः राराखबर अनलाइन