
२१ माघ, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ ।
संविधान सभा सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएको बारे जानकारी दिनुभएको हो ।
नेता श्रेष्ठले आफ्नो फेसबुकमा ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं ।’ भन्ने स्टाट्स लेख्नुभएको छ ।
यसैबीच प्रचण्ड-नेपाल पक्षले आज दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो ट्वीटरबाट जानकारी दिनुभएको छ । ‘नेकपाले आज २ बजे पेरिसडॉडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार मित्रहरूलाई हार्दिक आमन्त्रण छ।’ रिजालले ट्वीट गर्नुभएको छ ।
विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको आज सपथ ग्रहण गराएपछि प्रचण्ड-माधव पक्ष रुष्ट बनेको छ ।



Prawash Kumar Shakya । २१ माघ २०७७, बुधबार १३:४७ बजे