
२८ फागुन, सुर्खेत । सुर्खेत तथा प्रदेशको निजी क्षेत्रले प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल विस्तार प्रक्रिया खारेजप्रति असहमति जनाउँदै विस्तार प्रक्रिया पुनः अगाडि बढाउन माग गरेका छन् ।
सुर्खेत उद्योग बाणिज्य संघले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विमानस्थल प्रक्रिया अगाडि बढाउन भन्दै भेटेर ज्ञापनपत्रसमेत बुझाएको छ भने नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशले पनि विज्ञप्ति जारी गरी विमानस्थल विस्तारको काम अगाडि बढाउन आग्रह गरेको छ ।
सुर्खेत उद्योग बाणिज्य संघले विमानस्थलको विस्तारको काम विगतमा पटक पटक भएपनि कार्यान्वयन हुन नसकेको भन्दै यही फागुन २२ गते बसेको सर्वपक्षीय भेलाले विस्तारको काम सँधैका लागि वन्द गर्ने निर्णयप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । उक्त दिन कर्णाली प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीय प्रभावितहरुवीच भएको सर्वपक्षीय छलफलमा सुर्खेत विमानस्थलको विस्तार प्रक्रिया सधैंका लागि खारेज गर्ने सहमति भएको थियो ।
संघले विगतदेखि नै धावनमार्ग विस्तारका लागि पहल गर्दै आएकोमा अहिले एक्कासी सधैंका लागि खारेज गर्ने निर्णयप्रति असहमति जनाएको छ । विज्ञप्तिमा धावनमार्ग साँघुरो हुँदा अहिले हवाई सेवाको भाडा दर महँगो भएको, अर्को प्रदेश जानुपरेको र आर्थिक चलायमानसमेत हुन नसकेकोले विस्तार प्रक्रिया थाल्नुपर्नेमा उल्टै सधैंका लागि खारेज गरिनुले कर्णालीमाथि अन्याय भएको उल्लेख छ ।
समग्र कर्णाली प्रदेशको आर्थिक विकास, पर्यटन क्षेत्रको विकासका लागि सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउनुको विकल्प छैन भन्दै सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले त्यसका लागि सवैले पहल गर्न अपिल गर्नुभयो । उहाँले आवश्यक जग्गा अधिग्रहण गरी विस्तारको कामलाई अगाडि बढाउनसमेत आग्रह गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई धावनमार्ग विस्तारको कार्यलाई निरन्तरता दिन बोधार्थ दिइएको छ भने वीरेन्द्रनगर नगरपालिका सहित जनप्रतिनिधिहरुलाई पनि आवश्यक सहयोग र समन्वयका लागि पहल गरिदिन आग्रह गरिएको महासचिव कँडेलले बताउनुभयो ।
यसैगरी नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले पनि शनिवार नै एक विज्ञप्ति प्रकाशित गरी विमानस्थल विस्तारमा ठूलो धनराशी खर्च हुने र प्राविधिकरुपले उपयुक्त नभएको कारण देखाएर धावनमार्ग विस्तारको काम रोकेकोमा विकास नचाहने मनोबृत्ति भएको भन्दै विरोध जनाउनुभएको छ ।
ठूलो विमानस्थल बन्दा प्रदेशकै गौरव हुने, यहाँका बासिन्दाले सस्तो र नियमित हवाई सेवाको उपभोग गर्न पाउने, प्रदेशको आर्थिक क्षेत्रमा चहलपहलमाा टेवा पुग्ने र प्रदेश राजधानी र संघीय राजधानीको सिधा सम्पर्क अझ बाक्लो हुनेथियो भन्दै विज्ञप्तिमा तर पछिल्लो समय मुआब्जा र विस्तारका विषयमा भएका गतिविधि र हाल विमानस्थल भइरहेको स्थानमा विमानस्थल विस्तार हुन नसक्ने र विकल्प खोज्ने कर्णाली प्रदेश सरकारले स्पष्ट पारेसँगै यस प्रदेशको निजी क्षेत्रलाई निरुत्साहित बनाएको ठहर महासंघले गरेको उल्लेख छ ।



Prawash Kumar Shakya । २८ फाल्गुन २०७८, शनिबार १६:४४ बजे