बलात्कार मुद्दामा अभिनेता शाहले पाए सफाई तर बाल यौन दुरुपयोग गरेको ठहर


२१ भदौ, काठमाडौं । एक गायिकालाई जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा दोषी ठहर गरेको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्याइ गर्दै साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२५ मा बाल यौन दुरुपयोगवारे उल्लेख छ, जसमा बालबालिकालाई यौन सम्बन्धी क्रियाकलाप गराएमा बाल यौन दुरुपयोगको कसुर स्थापित हुने उल्लेख छ । त्यो कसुरमा बढीमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

अभिनेता शाह माथि १६ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप लगाएको थियो तर जिल्ला अदालतले त्यो अभियोगको साटो अर्को अभियोगमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले बलात्कारको आरोप पुष्टि हुन नसकेको, तर अर्को अभियोगमा उनी दोषी ठहर भएको जानकारीदिनुभयो ।