बौद्ध ग्रामीण सहकारीले शुरु गर्यो दुई वर्षे उद्यमशीलता विकास अभियान



२८ चैत्र, सुर्खेत । वीरेन्द्रनगरको सुर्खेतमा रहेको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले २ बर्षे उद्यमशीलता विकास अभियान शुरु गरेको छ ।

आजदेखि वीरेन्द्रनगरमा संचालित कार्यक्रम यही चैत्र ३० गते सम्म संचालन हुने संस्थाले जनाएको छ । स्वावलम्बन विकास केन्द्र, काठमाण्डौको पहलमा नेपालभरीका लघुवित्त कार्यक्रम संचालन गर्ने संस्था र सहकारी संस्थाहरु गरी १८ वटा संस्थाहरुको सहकार्य आउदो २ बर्ष भित्र मुलुक भर करीब ५ हजार सदस्यलाई उद्यमी निर्माण गर्ने अभियान शुरु गरिएको छ । यसै अभियान अन्तरगत बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारीले पनि २ बर्षे कार्ययोजना सहित अभियानलाई अघि बढाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश, सहकारी रजिस्टार खुम प्रसाद सुबेदीले सहकारी संस्थाहरुले राज्यद्वारा दिएका नितिनियम र निर्देशनको पालना गर्दै कार्यहरु गर्नुपर्ने, स्थानिय स्तरमा उत्पादन बृद्धि हुने क्रियाकलापमा केन्द्रित भई स्वरोजगार श्रृजना र लघुउद्यम विकास गर्नकालागि सहकारी संस्थाहरु योजनाबद्ध हिसाबले अघि बढनुपर्ने बताउँदै संस्थाले एउटा राम्रो कार्यको थालनी गरेकोमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सिंह बहादुर गुरुङ्गले २५ जना सेयर सदस्यहरुको ऐक्यबद्धताबाट शुरु गरिएको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थामा हाल ६४ हजार सेयर सदस्यको सहकारी संस्थाको रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “बौद्ध ग्रामीणले स्थानिय स्तरमा स्वरोजगार श्रृजना गर्न र गरीवी न्यूनिकरण गर्नमा थुप्रै योगदान दिएको जसलाई यस कार्यक्रमका माध्ययमबाट अझै व्यवस्थित गरी अघिबढन जोड दिनुपर्ने छ ।”

त्यस्तै संस्थाका कार्यकारी प्रमुख विशाल के.सी.ले कार्यक्रमको उद्देश्य स्थानिय स्तरमा रहेको लघुउद्यमलाई व्यवस्थित र व्यावसायिकता प्रदान गर्नको लागि पहिलो चरणमा उद्यमशिलता विकास अधिकारी तयार गरीने तत् पश्चात उक्त प्रशिक्षकहरुले दोस्रो चरणमा उद्यमशीलता सम्बन्धि डाटा संकलन गरी सदस्यहरुका पेशा व्यावसाय अनुसार वर्गिकरणगरी एउटै पेशा व्यावसाय भएका उद्यमीहरुलाई २०/२० जनाको समुह निमार्ण गर उद्यमशीलता विकास गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा स्वावलम्वन विकास केन्द्र, काठमाण्डौका अधिकृत चन्द्रकान्त पण्डित संस्थाका सचिव पासाङ्ग महत्तरा लगाएत संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

सुर्खेत जिल्लामा स्थापित भएर कर्णालीका ४ जिल्ला सुर्खेत, दैलेख, जुम्ला र जाजरकोटका ग्रामीण क्षेत्रहरुमा सहकारीको माध्यमबाट वित्तिय सुविधा उपलब्ध गराउदै आएको सहकारीले स्थानीय स्तरमा लघुउद्यमशिलता विकास गर्नकोलागि दुई बर्षे उद्यमशीलता विकास अभियानको शुरुवात गर्दै पहिलो चरणमा आफ्नो विभिन्न शाखाका शाखा प्रमुखहरुलाई लक्षित गरी उद्यमविकास प्रशिक्षक प्रशिक्षण तालिम दिनलागेको बौद्ध सहकारीका कार्यकारी प्रमुख के.सी.ले जानकारी दिनुभयो ।