कर्णालीको डोल्पामा यात्रुबाहक बस पुग्यो


फोटोः सुशिलखड्काको फेसबुकबाट

२६ बैशाख, सुर्खेत । कर्णाली विकट हिमाली जिल्ला डोल्पामा पहिलो पटक यात्रुवहाक बस पुगेको छ ।

सोमबार नेपालगन्जबाट हिँडेको यात्रुवहाक बस मंगलबार डोल्पा सदरमुकाम दुनै पुगेको हो । बस पुगे संगै डोल्पा पनि राष्ट्रिय राजमार्गसँग जोडिएको छ । नेपालगंजबाट भेरी राप्ती यातायात प्रालि र नमस्ते सगरमाथा यातायात प्रालिको १/१ वटा बस डोल्पा पुगेको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ । २०७६ सालमा राष्ट्रिय सडक सञ्जालले पनि डोल्पामा जीप र मोटरसाइकल मात्रै गुड्दै आएको थियो ।

डोल्पा-जाजरकोट सडकखण्ड अन्तर्गत डोल्पाको भेरी नदीमा बेलिब्रिज निर्माण भएसंगै डोल्पामा पहिलो पटक यात्रुबहाक बस पुगेको हो ।

अब हुम्लामा मात्र बस पुग्न बाँकी रहेको छ । राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोर नेपाली सेनामार्फत् निर्माण कार्य भइरहेको छ ।

करिडोरको हुम्ला खण्डको ६ किलो मिटर सडक निर्माणको काम बाँकी छ । राजमार्गअन्तरगत केही खोलामा पुल निर्माणको काम पनि बाँकी छ । उक्त बाँकी रहेको सडक निर्माण र झण्डै एक दर्जन खोलामा पुल निर्माण भएपछि हुम्ला पनि राष्ट्रिय राजमार्गसँग जोडिने छ ।

डोल्पा जाजरकोट सडकखण्ड अन्तर्गत तल्लुबगर, मुलातार, दामाचौरसहित अन्य खोलामा पुल छिट्टै बने डोल्पामा सहजै बस यात्रा गर्न सकिने स्थानीय बताउँछन् ।