आदिवासी अपाङ्ग महिलाहरुकालागि UNCRPD सम्वन्धि तालिम सम्पन्न


१३ असार, सुर्खेत । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (CRPD) सम्बन्धि एकदिने तालिम आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाती अपाङ्ग संघ कर्णाली प्रदेशको आयोजना एवं वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । तालिमको शुभारम्भ गर्दै वीरेन्द्रनगर नगरपालिका ६ वडा कार्यालयका वडा सदस्य मिरा पन्तले हरेक व्यक्तिले आफ्नो हकअधिकारका बारेमा आफैले नै जान्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले अपाङ्गता भएकाहरुकालागि जति बजेट छुट्याउनु पर्ने हो त्यति नछुट्याएकोले कार्यक्रमहरु गर्न कठिनाई भएको छ । तर पनि पाएको बजेटलाई सही सदुपयोग गर्न म आग्रह गर्दछु । सिप सिकेर सबैजना स्वरोजगार बन्नुपर्दछ ।”

त्यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवहाक अध्यक्ष अशोक राजीले आदिवासी जनजातिका सवालमा आफु जतिवेला पनि साथ रहने बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरु आफू अपाङ्ग छु भनेर नबस्नुस सिपसिकेर आयआर्जनको काम गरेर देखाउनुस सरकार सँग हामी तपाईहरुकालागि पहल र पैरवी गर्नेछौं ।”

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका आनन्द बहादुर विष्टले UNCRPD का बारेमा, समावेशी शिक्षाका बारेमा विष्णु भट्टराई र नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कावा अध्यक्ष अशोक राजीले आदिवासी जनजातका बारेमा प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण संघका सचिव ललिसरा घर्ति मगरले गर्नुभएको थियो ।

के हो यू.न.सि.आर.पि.डी.

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (CRPD) एक अन्तर्राष्ट्रिय मानवअधिकार महासन्धि हो जसले अपाङ्गता भएका व्यक्तिहरूको आधारभूत मानवअधिकारहरू निर्धारण गर्दछ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको महासन्धि (CRPD) को उद्देश्य सबै अपाङ्गता भएका व्यक्तिहरूद्वारा सबै मानव अधिकार र मौलिक स्वतन्त्रताहरूको पूर्ण र समान उपभोगलाई प्रवर्द्धन, संरक्षण र सुनिश्चित गर्नु र तिनीहरूको अन्तर्निहित मर्यादाको सम्मानलाई प्रवर्द्धन गर्नु हो। ।

यो दुईवटा दस्तावेजहरु मिलेर बनेको छ, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, जसमा लेखहरूको शृङ्खलाको रूपमा व्यक्त गरिएका मुख्य मानवअधिकार प्रावधानहरू र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको ऐच्छिक प्रोटोकल समावेश छन् ।