संगठित भए सुर्खेतका पुष्प कृषक । अध्यक्षमा मगर चयन


१७ कार्तिक, सुर्खेत । कुनै समय थियो महान चाड तिहार होस या अन्य कुनै कार्यक्रम त्यस्तो समयमा सुर्खेतमा फूल पाउन निकै कठिन हुने गर्दथ्यो यस्तो वेला बाहिरी जिल्लाबाट अग्रिम फूल खरिद गर्नुपर्थ्यो । तिहारको वेलामा सुर्खेतका बजारहरुमा जताततै भारतबाट आयातित प्लाष्टिकका फूलहरु देख्न पाइन्थ्यो तर अहिले समय फेरिएको छ । अहिले सुर्खेतमा पनि पुष्प (फूल) खेतीको भैरहेको छ । विषेश गरेर अहिले कृषकहरुले महान चाड तिहारको समयमा पुष्प खेती गरेका छन् । यसरी छरिएर पुष्प खेती गरिरहेका कृषकहरु अहिले एकजुट हुँदै आज सुर्खेतमा नेपाल पुष्प व्यवसायी संघ गठन गरेकाछन् ।

आज वीरेन्द्रनगरमा पुष्प खेती गर्ने कृषकहरुको एक भेलाले हिराबहादुर मगरको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको छ । त्यस्तै भेलाले उपाध्यक्षमा उविसरा थापा, सचिवमा विनोद शर्मा, सहसचिवमा अशोक चौधरी र कोषाध्यक्षमा रुवि आचार्यलाई चयन गरेको छ  । यस्तै सदस्यहरुमा रामप्रसाद भण्डारी, मान वहादुर राना, परशुराम धमला, रिता भारती, कृष्ण शर्मा, समिर खत्री, हिमानी कोइराला र रमेश विसीलाई चयन गरेको छ ।

हाम्रो जिल्लामा केही समयबाट व्यावसायीकरुपमा पुष्प खेती गरिएपनि कृषकहरु संगठित हुन नसकेको अवस्थामा हामी अब संगठित भएका छौ । हाम्रो यो संगठनले एउटै वस्तु उत्पादन गर्दै आएकोले व्यवसायीहरुको बजारीकरण तथा हक अधिकार संरक्षण गर्नकालागि कामहरु गर्ने छ । साथै हामी प्लाष्टिकका फूलहरुलाई प्रयोग नगर्न पनि अनुरोध गर्दछौ । अध्यक्ष मगरले भन्नुभयो ।

भेलाले फूलको मूल्यपनि निर्धारण गरेको छ । थोकमा २ सय ५० देखि ३ सय रुपैया प्रति केजी, त्यस्तै खुद्रा लिँदा ४ सय रुपैया प्रति केजी, माला थोक १ सय देखि १ सय ५० तथा खुद्रा २ सय रुपैया कायम गरिएको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

स्मरण रहोस् अध्यक्ष हिराबहादुर मगरले लेकवेशी नगरपालिकाको गुमीमा कर्णाली ड्रागन फ्रूट फर्म संचालन गरिरहनुभएको छ ।