
नेपालगन्ज । नेपाल र नेपालीहरुको मौलिक सम्वत् नेपाल सम्वत् ११४५ यही शनिवार म्हः पूजा तथा गोवर्धन पूजाको दिन शुभारम्भ हुँदैछ । शुभारम्भको अवसरमा विगतमा झैं नेपालगन्जमा शुभकामना अर्थात् भिन्तुना र्रयालीको आयोजना गरिंदैछ ।
बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशीको अध्यक्षतामा शुक्रवार र शनिवार नेपालगन्जमा सम्पन्न नेवार समुदायका संघ संस्था तथा गुठीहरुको वृहत् भेलाले नेपाल सम्वत्–११४५ शुभारम्भको अवसरमा नेपालगन्जमा भिन्तुना र्रयाली आयोजना गर्ने निर्णय गरेको हो ।
भेलामा सहभागी नेवाः अगुवाहरुले नेपाल सम्वत् नेवार समुदायको मात्र नभएकोले सबै जातजातिका नेपालीहरुले अपनत्व लिने गरी सहभागिता गराउन आयोजकलाई सुझाव दिएका थिए । उनीहरुले नेवाः सहित अन्य जाती, भाषा र सम्प्रदायका अगुवाहरुलाई पनि भिन्तुना र्रयालीमा आमन्त्रण गरी सबैलाई नेपाल सम्वतको महत्व दर्शाउनुपर्नेमा जोड दिएका थिए ।
भेलामा बोल्दै नेवाः पुचःका पार्षद् एवं वरिष्ठ पत्रकार पूर्णलाल चुकेले नेपाल सम्वत् नेपाल र नेपालीको मौलिक सम्वत् भएकोले सबैले यसको अपनत्व लिनु पर्ने बताउनु भयो । उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो भन्दै भक्तपुरका तत्कालीन राजा आनन्द देव (वि.सं.९३०) र ललितपुर र काठमाण्डौंमा राजा राघवदेवको शासनकालमा प्रचलनमा ल्याइएको ‘नेपाल सम्वत् भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शम्शेरको पालासम्म सरकारी कार्यालयमा समेत नेपाल सम्वत्को प्रचलन रहेको इतिहासमा उल्लेख भएको बताउनु भयो ।
सो अवसरमा नेवा पुचः का सल्लाहकारत्रय अशोक कर्माचार्य, लक्ष्मी श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, नेवाः देय दवू बाँकेका अध्यक्ष बद्री प्रसाद श्रेष्ठ, कोहलपुर भीमसेन गुठीका अध्यक्ष सीता श्रेष्ठ, भृकुटी गुठीका अध्यक्ष विनोद कुमार श्रेष्ठ, नेवाः देय दवू नेपालगन्ज नगर कमिटीका अध्यक्ष दिपेन्द्र कुमार जोशी, कारकाँदो गुठीका अध्यक्ष जीत बहादुर श्रेष्ठ लगायतले नेपाल सम्वत् भिन्तुना र्रयाली नयाँ ढंगले भव्यताका साथ मनाउन सबैलाई समेट्न पर्ने धारणा राख्नुभएको थियो ।
नेवाः पुचः बाँकेका अध्यक्ष जितेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको भेलामा नेवाः सम्बद्ध पुचः, गुठी र खलका अध्यक्ष तथा पदाधिकारीहरुले भिन्तुना र्रयालीलाई भब्य बनाउने प्रतिबद्धता व्यक्त गरेका गर्नुभएको थियो ।
भेलाले युवा व्यवसायी विष्णु प्रसाद श्रेष्ठको संयोजकत्वमा भिन्तुना र्रयाली मूल आयोजक समिति गठन गरेको छ । सदस्यहरुमा नेवाः सम्बद्ध पुचः, गुठी र खलका अध्यक्ष तथा पदाधिकारीहरु रहेका छन् । त्यसैगरि नेवाः पुचःबाँकेका कोषाध्यक्ष विनय श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ ।
नेवाः पुचः बाँकेका अध्यक्ष जितेन्द्र कुमार जोशीका अनुसार भिन्तुना र्रयाली नेपालगन्जको गणेशमान चोकबाट शुरु गरेर नगर परिक्रमा गर्दै राँझा विमानस्थल स्थित राँझा गुठी भीमसेन मन्रि परिसरमा पुगेर समापन गरिने छ ।
सो उपलक्ष्यमा ‘न्हू दँ या भिन्तुना’ भन्दै नेपालभर र विदेशमा समेत ‘भिन्तुना र्रयाली’ निकाल्ने गरिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम सम्वतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल सम्वतको प्रथम दिन पर्दछ । तिथिको हिसाबले नेपाल सम्वत् र ‘म्ह पूजा’ एक दिन अर्थात् कार्तिक प्रतिपदाको दिन पर्दछ ।
उल्लेखनीय छ, १२ वटा औंसीको एक वर्ष मापन गरिएको यस सम्वतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको छ र यस सम्वत् ३५४ दिनको एक वर्ष हुन्छ ।
वि.सं.२०४७ सालमा नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि २०५६ साल मंसीर २ गते तत्कालीन सरकारले नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाःलाई नेपालको ‘राष्ट्रिय विभूति’ को सम्मान दिने घोषणा गरेको थियो ।
नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः १. कछला २. थिंला ३. पोहेंला ४. सिल्ला ५. चिल्ला ६. चउला ७. वछला ८. तछला ९. दिल्ला १०. गुूला ११. येंला १२. कउला नामाकरण गरिएको छ ।
प्रत्येक महिनाको पहिलो पक्षलाई ‘थ्व’ र पछिल्लोलाई ‘गा’ जोडेर नामाकरण गरिएको छ । त्यसैले १५ दिनको एक महिना हुन्छ । जस्तै ः ‘कछलाथ्व’ र ‘कछलागा’ भनिन्छ । आधिकारिक रूपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस सम्वतलाई नेपाल सरकारले पनि आधिकारिक मान्यता दिएको छ ।



Prawash Kumar Shakya । ११ कार्तिक २०८१, आईतवार १६:४९ बजे