सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकामा बढ्दो खानेपानी सङ्कट टार्न उत्तरी जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापनको कुनै विकल्प नभएको बताउनुभएको छ । उहाँले वीरेन्द्रनगरको भविष्य जलस्रोतको दीर्घकालीन सुरक्षासँग जोडिएको भन्दै यसको व्यवस्थापनमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
आज वीरेन्द्रनगरमा (सोमबार) आयोजित ‘सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो धारणा राख्नुभएको हो ।मुख्यमन्त्री कँडेलले पानीको स्रोत क्षेत्र नै नासिएपछि समाधान खोजेर नपाइने भन्दै संरक्षणमुखी नीतिमा जोड दिनुभयो । उहाँले सामुदायिक वनहरूमा रहेका प्राकृतिक वनस्पति र जैविक विविधताको संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो ।
“वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव बढ्दो छ, यस्तो अवस्थामा उत्तरी भेगको जलाधार क्षेत्र जहाँ स्रोतहरू छन् त्यहाँ संरक्षण नगरी समाधान सम्भव छैन,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “ढलेका रूख र सडेका रूख बाहेक अन्य वनस्पतिको कटानी नियन्त्रणमा ल्याउनु पर्छ ।”
मुख्यमन्त्री कँडेलले जलाधार क्षेत्रको वैज्ञानिक संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले योजनाको सफल कार्यान्वयनका लागि स्थानीय तह, वन उपभोक्ता समूह, विज्ञ, नागरिक समाज र प्रदेश सरकारबीच बलियो सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विज्ञ र सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले जलाधार क्षेत्रको दीर्घकालीन संरक्षण, भू-क्षय न्यूनीकरण, पानीको पुनःभरण क्षमता अभिवृद्धि र वन सम्पदाको दिगो उपयोगका लागि गुरुयोजना कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । यो गुरुयोजनाले सुर्खेत उपत्यकाको खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने र वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।




Prawash Kumar Shakya । २३ असार २०८२, सोमबार १२:२१ बजे