
जाजरकोट, असार ३२: जाजरकोटमा रगतको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापनाका लागि एक महत्वपूर्ण अभियानको थालनी गरेको छ । सामान्य प्रसूति तथा अन्य शल्यक्रियाका लागि समेत रगत नपाएर जिल्ला बाहिर जानुपर्ने पीडादायी अवस्थाको अन्त्य गर्न यो अभियान सुरु गरिएको हो ।
५० शय्यामा स्तरोन्नति भएको जाजरकोट जिल्ला अस्पतालमा प्रसूति तथा सामान्य शल्यक्रिया सेवा सुरु भए पनि रक्तसञ्चार केन्द्र नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन। “शल्यक्रियालाई प्रभावकारी बनाउन ब्लड बैंक अनिवार्य छ,” जिल्ला अस्पतालमा कार्यरत एमडिजिपि डा. दयाराम यादवले भन्नुभयो । उहाँका अनुसार गत वैशाखमा १३ र जेठमा १० जनाको प्रसूतिसम्बन्धी शल्यक्रिया गरिएको थियो। “करिब ३० मिनेटभित्र समूह मिल्ने रगत आवश्यक पर्छ,” उहाँले भन्नुभयो, “अस्पतालमा मासिक ८ देखि १० पिन्ट रगत आवश्यक पर्छ ।”
डा. अखिलेस झाका अनुसार अस्पतालको भौतिक संरचना राम्रो भए पनि रक्तसञ्चार केन्द्रको अभावमा स्वास्थ्य सेवा अपुरो छ । “दन्त, नेत्र र टेलिमेडिसिन सेवा उत्कृष्ट भए पनि शल्यक्रिया सेवालाई गुणस्तरीय बनाउन ब्लड बैंकको खाँचो छ,” उहाँले थप्नुभयो ।
एकजुट हुँदै नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट शाखा
नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोटका अध्यक्ष प्रेम वलीको नेतृत्वमा ११ सदस्यीय समिति यो अभियानमा सक्रिय रूपमा लागेको छ । जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी, सातवटै स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गरेर अगाडि बढ्ने योजना रहेको वलीले बताउनुभयो । अभियानलाई आर्थिक रूपमा सघाउन समाजको नाममा बैंक खाता खोलेर रकम संकलन सुरु गरिएको छ । उत्साहजनक रूपमा अभियानको पहिलो चार दिनमै एक लाख १३ हजार ८०० रुपैयाँ जम्मा भइसकेको छ । “यो अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं,” वलीले अपिल गर्नुभयो ।
अभियानका लागि १५ देखि २० लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि ५ देखि ८ लाख रुपैयाँ जम्मा भएमा केन्द्र सञ्चालनमा ल्याउन सकिने अध्यक्ष वलीको विश्वास छ।
नेपाल रेडक्रस सोसाइटी, जाजरकोटका सभापति हरिबहादुर बस्नेतले केही वर्ष पहिले पनि रक्तसञ्चार केन्द्र सञ्चालनको प्रयास भएको जानकारी दिए। पहिले रेडक्रसलाई मात्र अनुमति भए पनि हाल अस्पताल आफैंले पनि सञ्चालन गर्न सक्ने प्रावधान रहेको उहाँले बताउनुभयो । “केही वर्षअघि भेरी नगरपालिकाको सहयोगमा एक वर्ष कार्यक्रम चलाउँदा ३६ जना बिरामीले सेवा पाएका थिए,” बस्नेतले भन्नुभयो, “तर, रक्तदाताले निःशुल्क दिएको रगतमा केन्द्रले शुल्क लिन्छ भन्ने गलत बुझाइले चुनौती थपियो ।” उहाँले अहिलेको अभियानमा रेडक्रसको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एक व्यक्तिको प्रेरणादायी कदम
अभियानका अध्यक्ष प्रेम वली आफैं पनि एक नियमित रक्तदाता हुनुहुन्छ । जिल्ला अस्पतालमा कार्यरत उहाँले रगतको अभावमा छटपटाइरहेका बिरामीको पीडा नजिकबाट देख्नुभएको छ । उहाँले हालसम्म जाजरकोट, रुकुमपश्चिम, सुर्खेत र नेपालगञ्जका अस्पतालहरूमा गरी २६ पटक रक्तदान गरिसक्नुभएको छ । उहाँको यो प्रेरणादायी कार्यले पनि अभियानमा ऊर्जा थपेको छ ।
यो अभियान केवल एक संस्थाको मात्र होइन, सम्पूर्ण जाजरकोटवासीको जीवनसँग जोडिएको विषय हो । रगतको अभावमा अब कुनै पनि सुत्केरी वा बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने सुनिश्चित गर्न यस अभियानमा सबैको सहयोग अपरिहार्य छ ।



Prawash Kumar Shakya । ३२ असार २०८२, बुधबार १२:२० बजे