फेन्सी कपडा व्यवसायी समितिद्वारा रेसुङ्गा चौतारामा बर–पिपल वृक्षारोपण


गुल्मी, श्रावण १७  । समाज र वातावरणप्रतिको उत्तरदायित्व बोकेर फेन्सी कपडा व्यवसायी समिति, गुल्मीले रेसुङ्गा नगरपालिका–८ स्थित चौतारा गौशालामा धार्मिक र सांस्कृतिक महत्वका बर र पिपलका बिरुवा रोपेको छ।

आज (शनिबार) सम्पन्न वृक्षारोपण कार्यक्रममा समितिका सह–सचिव तथा संयोजक शिव पाण्डेकी ६६ वर्षीया आमा गीता पाण्डेले बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । सहभागीहरूले बर र पिपल जस्ता पूजनीय बोटहरूको रोपाइँले मातृत्वको आशीर्वाद, धार्मिक आस्था र वातावरणीय संरक्षणलाई सशक्त सन्देश दिएको प्रतिक्रिया व्यक्त गरे ।

संयोजक शिव पाण्डेले वृक्षारोपणलाई “सामाजिक जिम्मेवारी र भावी पुस्तालाई सन्देश दिने उद्देश्य” भएको बताउनुभयो । स्थानीय बासिन्दाहरूले यस अभियानले धार्मिक स्थल संरक्षण, वातावरणीय चेतना अभिवृद्धि र सामुदायिक एकतालाई सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् ।

समितिकी उपाध्यक्ष उमा भट्टराई, सहसचिव शिव पाण्डे, सदस्य दीपक रेग्मी, रेसुङ्गा नगरपालिका अध्यक्ष विष्णु पाण्डे, नगर सचिव केशव मरासिनी, कोषाध्यक्ष गोविन्द पाण्डे, नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य ध्रुव पाण्डे, व्यवसायी देवराज पाण्डे, विष्णु भट्टराई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।