काठमाडौं – देशभर चलेको जेन-जी प्रदर्शनमा हालसम्म ७२ जनाले ज्यान गएको छ । मुख्य सचिव एकनारायण अर्यालले दिनुभएको जानकारीअनुसार ज्यान गुमाउनेमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी र ३ सुरक्षाकर्मी रहेका छन् । यस्तै प्रदर्शनमा १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइते भएका छन् । जसको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।
जेन-जी प्रदर्शनमा ज्यान गुमाएका मृतकका परिवारलाई अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राहत प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको निर्णयअनुसार घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नेछ भने आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहिद घोषणा गरिनेछ । साथै मृतकका प्रत्येक परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने जनाएको छ।
प्रदर्शनका क्रममा देशभरका दर्जनौ सरकारी तथा निजी भवनहरूमा तोडफोड भएको छ । जसले ठूलो भौतिक क्षति पुर्याएको छ । मृतक सबैको सनाखत हुन सकेको छैन भने जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ ।



Prawash Kumar Shakya । २९ भाद्र २०८२, आईतवार १२:१९ बजे