नेपाल आइडल विजेता गंगा सोनामको स्वरमा रक्तदानसम्बन्धी नयाँ जागरण गीत रेकर्ड


रक्तदानप्रति जनचेतना जगाउने उद्देश्यले नेपाल आइडल सिजन–६ का विजेता गंगा सोनामको स्वरमा नयाँ रक्तदान जागरण गीत रेकर्ड गरिएको छ ।

गीतका रचनाकार नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको शब्दमा तयार भएको गीतमा वरिष्ठ संगीतकार मनराज नकर्मीले संगीत दिनुभएको छ भने अष्ट लामाले संगीत संयोजन गर्नुभएको छ ।

काठमाडौंस्थित आटो म्युजिक स्टुडियोमा सम्पन्न गीतले रक्तदानलाई मानवीय मूल्य र सामाजिक उत्तरदायित्वसँग जोड्दै ‘रक्तदान, जीवनदान’को सन्देश दिन खोजिएको बताइन्छ । गीतका रचनाकार कर्माचार्यका अनुसार, “रक्तदानले अरूको जीवन बचाउनुका साथै आत्मसन्तुष्टि पनि दिन्छ । यस गीतमार्फत सबैलाई स्वेच्छिक रक्तदानतर्फ प्रेरित गर्ने प्रयास गरिएको हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार गीतको सङ्गीत मिक्सिङ र मास्टरिङ कार्य सम्पन्न भइसकेको छ । निकट भविष्यमा सार्वजनिक गरिने तयारी भइरहेको छ ।

गीतकाे बाेल :
रगतकाे दान रक्तदान हुन्छ यसले जीवनदान
जीवनकाे दान जीवनदान हुन्छ जहाँ रक्तदान
जहाँतहीं जताततै सबले सबैले गराैं रक्तदान

स्वस्थ व्यक्ति स्वच्छ रगत गर्दा राम्रो रक्तदान
यसैमा छ मानव सेवा नचुकाैं है गर्न रक्तदान
जहाँतहीं जताततै सबले सबैले गराैं रक्तदान

दान पारमितामा महादानलाई बुझाैं रक्तदान
सञ्चार गराैं रगत एकअर्कामा गरेर रक्तदान
जहाँतहीं जताततै सबले सबैले गराैं रक्तदान