बुटवलमा रक्तदान गरि नारी दिवस मनाईयो, १५१ पिन्ट रगत संकलन


बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवलमा आयोजित रक्तदान कार्यक्रममा महिलाको सक्रिय नेतृत्वमा सम्पन्न रक्तदान कार्यक्रममा १ सय ५१ युनिट रगत संकलन गरिएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रक्तदानलाई मानव जीवन बचाउने पवित्र कार्यका रूपमा उल्लेख गर्दै सामाजिक सेवामा महिलाको बढ्दो सक्रियता प्रशंसनीय रहेको बताउनुभयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा बुटवल स्थित बालमन्दिर परिसरमा सम्पन्न कार्यक्रममा समाजकी सदस्य तथा कार्यक्रम संयोजक जानकी नेपालका अनुसार कार्यक्रममा बुटवलमा क्रियाशील २८ वटा संघसंस्थाले सहकार्य गरेका थिए । तीमध्ये २५ वटा संस्था महिलासँग सम्बन्धित रहेकोले कार्यक्रमलाई महिलाको सामाजिक उत्तरदायित्व र सहकार्यको उदाहरणका रूपमा लिइएको छ ।

कार्यक्रम रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका महिला तथा पुरुषले उत्साहपूर्वक रक्तदान गरेका थिए । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्मरण रहोस हरेक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष ‘सबै महिला र बालिकाका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नारी दिवसको ऐतिहासिक पृष्ठभूमि श्रमिक महिलाको अधिकारको आन्दोलनसँग जोडिएको छ । सन् १९०८ मा अमेरिकाको न्यूयोर्कमा महिलाले समान ज्याला, काम गर्ने समयको सुधार र मतदान अधिकारको माग गर्दै आन्दोलन गरेका थिए । त्यसपछि सन् १९१० मा डेनमार्कको कोपनहेगनमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनले नारी दिवसलाई विश्वव्यापी रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो ।

सन् १९७५ मा संयुक्त राष्ट्रसंघले आधिकारिक मान्यता दिएपछि अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर औपचारिक रूपमा मनाउन थालिएको हो । आज यो दिवस महिलाको अधिकार, समानता र उपलब्धिको सम्मान गर्ने अवसरका रूपमा स्थापित भएको छ ।