काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई नेपाली जनता, राष्ट्र र संविधानको महत्वपूर्ण विजयको रूपमा चित्रण गर्नुभएको छ । एक औपचारिक कार्यक्रममा बोल्दै उहाँले शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट निर्वाचन सम्पन्न हुनु सानो उपलब्धि नभएको बताउनुभयो । प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा नागरिकको ‘मतपत्र’ केवल कागजको टुक्रा नभई उनीहरूको आत्मसम्मानको प्रतीक भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा मूल शक्ति जनता हुन् र जनता नै सर्वोपरि हुन् ।”
निर्वाचित प्रतिनिधिहरूलाई सचेत गराउँदै उहाँले एक पटक प्राप्त भएको जनादेश सधैंका लागि स्थायी नहुने धारणा राख्नुभयो । “कानुनी रूपमा जनादेश पाँच वर्षको भए तापनि यसको नैतिक वैधता प्रत्येक क्षण जनताको विश्वासबाट अनुमोदित हुँदै जानुपर्छ,” उहाँले स्पष्ट पार्नुभयो । राज्य सञ्चालन गर्नेहरूले जनताको समर्थन र विश्वास आर्जन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै कार्कीले भन्नुभयो: “जनतालाई अपमान गर्ने, हेयाउने वा शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतान्त्रिक संस्कारसँग मेल खाँदैन ।”
उहाँले महिला लगायत विकासको मूल प्रवाहबाट पछाडि परेका वर्गलाई मूलधारमा ल्याउनु नै आजको लोकतन्त्रको मुख्य लक्ष्य हुनुपर्ने बताउनुभयो । अवसर र स्रोतहरूमा सबैको पहुँच सुनिश्चित गर्दै राष्ट्र निर्माणमा प्रत्येक नागरिकको सम्मानजनक सहभागिता हुनुपर्ने उहाँको तर्क थियो । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न योगदान पुर्याउने निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा स्वदेशी एवं विदेशी पर्यवेक्षकहरूप्रति आभार प्रकट गर्नुभयो ।



Prawash Kumar Shakya । २४ फाल्गुन २०८२, आईतवार १७:१९ बजे