
कलाकार तथा सर्जक भरत शाही ठकुरीले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीज आयो राजै’ सार्वजनिक गर्नुभएको छ । लोकप्रिय गायिका शान्तिश्री परियार र रञ्जिता विश्वकर्माको स्वर रहेको उक्त गीतलाई शाहीले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।
गीतमा भरत शाही र सुरेश रानाको शब्द तथा सुरेश रानाको संगीत रहेको छ । तीजको मौलिक परिवेश, नेपाली महिलाको भावना तथा पर्वको उत्साहलाई समेटिएको गीतमा सञ्जना गुरुङ र पार्वती श्रेष्ठको अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ ।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मतले गर्नुभएको छ भने गीतमा मादलतर्फ मदन रेग्मी र बाँसुरीमा रत्न बीके रहनुभएको छ । समूह स्वरमा ज्ञानु परियार र प्रनिता विश्वकर्माले साथ दिनुभएको छ ।
‘तीज आयो राजै’को भिडियोतर्फ मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको छ । भिडियोको छायांकन नवराज उप्रेतीले गर्नुभएको हो ।
तीजको सांस्कृतिक मौलिकता, नाचगान र मनोरञ्जनलाई केन्द्रमा राखेर तयार पारिएको ‘तीज आयो राजै’ नयाँ पुस्ताका दर्शक तथा तीज गीतका पारखीहरूका लागि आकर्षण बन्ने अपेक्षा गरिएको छ।



Prawash Kumar Shakya । २४ श्रावण २०८३, आईतवार १६:५५ बजे