दीपक र म एक अर्काबिना अपुरो छौं- दिपा


932224015DeepaShree.jpg
अढाई दशकअघि सेतो पर्दाबाट रंगीन दुनियाँमा आफ्नो करिअर खोज्न थालेकी दीपाश्री निरौला बीचका अधिकांश वर्ष काँचको पर्दामा रमाइन् । सानो पर्दामा करिब १५ वर्ष जमेकी उनी अन्ततः सुरुवाती सेतो पर्दामै फर्किइन् । बाध्यता हो या रहर, त्यो उनैलाई थाहा होला । तर, जे होस् करिअरको सुरुवाती वर्षमा झैँ ठूलो पर्दा उनका लागि अहिले भने अफाप भएन । उनी निर्मित चलचित्र ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ हिट भए । दर्शकले उनको कर्म मन पराए । नेपाली रजतपटमा महिला निर्देशन ‘फेलियर’ भइरहेका बेला उनले यतिबेला नयाँ जोखिम उठाइन् र निर्देशन गरिन् नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ।’ यही भदौ २४ गते रिलिज डेट लिएको ‘छक्का पञ्जा’को प्रचारमा रहेकी दीपा समय मागेको २४ घण्टापछि हाम्रा लागि उपलब्ध भइन् । हामीले उनलाई भन्यौं, “हामीसँग केही पाठकका, केही पत्रकारका र केही आफ्नै प्रश्न छन्, जुन सीधा छन् । सुन्दा तपाईंलाई अप्रिय र तीतो लाग्न सक्छ । हाँसीहाँसी उत्तर दिनुहोला ।”
उनले भनिन्, “प्रश्न के हो ? सोध्नुस् ।”
हामीले सोध्यौं– ‘छक्का पञ्जा’मा सबै काम दीपकराज गिरीले गर्नुभए पनि नाम भने तपाईंको राखिएको रे ! तपाईंको करिअर ‘बुस्ट’ नभएको भएर गुन तिर्दिन त्यसो गर्नुभएको रे ! हो ?
हाहाहा…(लामो हाँसो) । कति मीठो कुरा, कति राम्रो कुरा । मेरोबारेमा आउने राम्रो र नराम्रो दुवै कुरालाई सकारात्मक रूपमा लिन्छु म । चलचित्र भनेको ‘होल टिम’ले बन्ने कुरा हो । त्यहाँ दीपाश्री पनि केही होइन । कुनै एउटा पात्रमात्रै पनि केही होइन । सबैभन्दा ठूलो कुरा टिम हो । टिमले राम्रोसँग काम गरेपछि त्यहाँ कुनै एउटा व्यक्तिले के ग¥यो भन्ने केही अर्थ रहँदैन । चलचित्रको मेरुदण्ड भनेको स्क्रिप्ट हो । चलचित्रमा ७५ प्रतिशत स्क्रिप्ट बोल्छ । २५ प्रतिशतमात्रै हो निर्देशकले फिल्डमा गएर निर्देशन गर्ने । पछिल्लो समयमा त एंगल समेत सिनेम्याटोग्राफरले दिन्छ । क्यारेक्टरअनुसार कथा बगेको छ कि छैन, त्यो मात्रै निर्देशकले हेर्ने हो ।
कुरा रह्यो करिअर ‘बुस्ट’को । ‘बुस्ट’ नभएको भए त यति लामो समय म यो फिल्डमा कसरी टिकिरहन्थेँ होला र ? एक वर्ष, दुई वर्ष, तीन वर्ष पो मान्छे टिक्ला, त्योभन्दा बढी त टिक्न सक्दैन । मान्छेमा केही भएपछि मात्रै निरन्तरता दिन सक्छ । दर्शकले माया गर्छन् । अरुले तानेर कति नै वर्ष टिक्न सकिन्छ र ? २५ वर्षसम्म यत्तिकै कोही पनि टिक्न सक्दैन ।
व्यावसायिक जीवनसँगै तपाईं व्यक्तिगत जीवनमा पनि उति सफल हुन सक्नुभएन । दीपकराज गिरीबाहेक अरुसँग तपाईंको नाम जोडिएन पनि । दीपकराजको अनुपस्थितिमा तपाईंको करिअर अपुरो हुन्छ भनियो भने सही हुन्छ कि गलत ?
दीपकराज गिरी भएन भने त अपूरो/अधुरो नै छु । जोडी भनेको मेरुदण्ड नै हो । हामी एक–अर्काबिना अपूरा हुन्छौं । शायद हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ दाइ पनि एक्लै–एक्लै हिँड्नुभएको भए आजको अवस्थामा आइपुग्नु हुन्नथ्यो होला । दीपकजीको साथ मेरा लागि अपरिहार्य नै भइसक्यो । यो अर्थमा कि उहाँले मलाई र मैले उहाँलाई साथ दिएकाले नै हामी आज यो अवस्थामा आइपुग्यौं ।
अगाडिको कुरा थोरै सम्झौँ, उहाँ पनि एक्लै चलचित्र खेलिरहनुभएको थियो । म पनि एक्लै चलचित्र खेलिरहेकी थिएँ । जब हामी जोडी बनेर चलचित्र खेल्यौं, त्यसपछि हामीले आजसम्म पछाडि फर्किएर हेर्नुपरेको छैन ।
दीपकसँग सम्बन्ध लामो समयसम्म टिक्नुमा पनि तपाईंकै कारण हो भनिन्छ, किनकि तपाईंको अर्को सहारा छैन । तपाईंहरूबीच खटपट पर्दा पनि अवसरकै लोभमा सहकार्य तोड्ने हिम्मत गर्नुभएन । दीपकसँगको तपाईंको सम्बन्ध बाध्यताको उपज हो ?
यो प्रश्न सकिन नपाउँदै दीपा बीचमै दिल खोलेर हाँसिन् र भनिन्, “बाध्यता होइन, कामको उपज हो । व्यावसायिक जीवनको उपज हो । यसमा शंका गरिरहनु पर्दैन । हामी दुवै एक भएर काम गर्नुपर्छ । दर्शक/स्रोताले दिनुभएको अपार मायाका कारण पनि हामी एक छौं । एक्लै–एक्लै काम गरेको भए शायद हामीले यो उचाइ लिन सक्दैनथ्यौं ।”
बाहिर भन्दा तपाईंहरूले लगानी र आम्दानी बराबर भने पनि अधिकांश हिस्सा दीपकराज गिरीले लैजानुहुन्छ भन्ने सुनिन्छ । विभिन्न बहानामा उहाँले आफ्नो हिस्सा बढी लैजानुहुन्छ रे ! आफू एक्लै भएपछि केही गर्न नसक्ने डरले सहनुभएको हो ?
म एक्लै छँदै छैन । मसँग यति धेरै दर्शक, स्रोता हुनुहुन्छ । कम गर्ने टिम छ । एक्लै छु भन्ने प्रश्नै आउँदैन । बाँकी रह्यो लगानीको कुरा । दीपकको ५१ र हाम्रो ४९ प्रतिशत हो । दीपकजीले कहिले पनि ‘तिम्रो यति मेरो यति’ भन्ने फिल हुन दिनुहुन्न । हामी हिसाबमा पारदर्शी छौं । मैले डाइरेक्सन गरेको पैसा लिन्छु, दीपकले स्क्रिप्टको पैसा लिनुुहुन्छ । हाम्रो कलाकारले खेलेको पैसा लिनुहुन्छ, जबकि हामी सबै प्रोड्युसर हौं । नलिन पनि सकिन्थ्यो, तर रिलेसनमा सधैं पैसा बीचमा रहन्छ । त्यसैले हामी सधैं पारदर्शी हुन्छौं । दीपकजी र म एक–एक रुपैयाँ हिसाब गर्छौं । व्यावसायिक दरार नआओस् भनेर नै यसो गरिएको हो ।
तपाईंका कारणले दीपकराज गिरीको वैवाहिक जीवनमा तनाव आएको हल्ला चलिरहन्छन् । स्वीकार्नुहुन्छ ?
तनाव आएको भए दीपकजी मसँग यति लामो समयसम्म काम नै गर्नुहुन्नथ्यो नि । दीपकजीको परिवारलाई भने मैले र दीपकजीले पनि धन्यवाद दिनैपर्छ, किनभने उहाँले हामी र हाम्रो व्यावसायिक जीवनलाई बुझिदिनु भएको छ । यो समाजमा पढेका मान्छेहरूले त कुरो बुझ्दैनन्, कति धेरै अनावश्यक कुराहरू हुन्छन् । सहेर हिँड्नुपर्छ । दीपकजीको श्रीमती त ‘हाउसवाइफ’ हुनुहुन्छ । उहाँ कति बुझ्ने हुनुहुन्छ । व्यावसायिक जोडी भनेर बुझिदिनु भएको छ । तपाईंले कति त्यस्तो जोडी देख्नुभएको छ, जो छुटेका छन् । हामीले त्यो समस्या भोग्नुपरेको छैन । उहाँ धेरै नपढे पनि पढेका मान्छेभन्दा धेरै माथि हुनुहुन्छ ।
हास्यव्यंग्यमा मदनकृष्ण र हरिवंश (मह)पछि आफूहरू भएको दम्भका कारण तपाईंले धुर्मुस¬ र सुन्तलीलाई गन्दै गन्नुहुन्न रे ! झन् धुर्मुस–सुन्तलीले फाउन्डेसनमार्फत सामाजिक काममा समेत प्रशंसा कमाउन थालेपछि तपाईंहरूलाई खपिनसक्नु भएको छ रे ! त्यसकारण तपाईंहरूले उनीहरूलाई पूरै निषेध गर्नुभएको छ रे ! साह्रै हेप्नुहुन्छ रे ! किन त्यस्तो ईष्र्या ?
यो प्रश्न सुनेर पनि दीपा खित्का छोडेर हाँसिन् । प्रश्न सकिन नपाउँदै भनिहालिन्, “पूरै गलत । सकेको समाजसेवा सबैले गर्नुपर्छ । तर, कलाकारिता गर्न भनेर यहाँसम्म आएका छौं भने कलाकारितासँगै समाजसेवा गरेको अझै राम्रो । आज पनि ‘सुर्के थैली’ले रेकर्ड बनाएको अवसरमा भएको कार्यक्रममा ‘तिमीहरूले गरेको काम एकदमै राम्रो छ । तर, कलाकारिता गर्न भनेर आएपछि समाजसेवा र कलाकारितालाई सँगै अगाडि बढाउनुपर्छ । कलामा यति अगाडि आइसकेको मान्छे यो क्षेत्रबाट हराउनु भनेको कला क्षेत्रकै लागि घाटा हो’ भन्यौं । उनीहरूले पनि हाम्रो चलचित्रमा लगानी गरिरहेका छन् । वैमनश्यता थियो भने त लगानी नै गर्दैनथे नि ! मेरो घरअगाडि ठूलो १० तलाको बिल्डिङ छ । तर, मैले त्यत्रो घर बनाउन त सक्तिनँ नि ! सबैले सबै काम गर्न सक्तैनन् । आफूले समाजसेवा गरेको कुरा म आफैँले भन्नु राम्रो होइन । तपाईंहरूले खोज्नु राम्रो हो । त्यसमा पनि समाजमा नाम चलेको मान्छेले झन् गर्नुपर्छ । हामीले एक बचन भन्दा १० जना मान्छेलाई कन्भिन्स गर्न सकिन्छ । राम्रा मान्छेले भनेका छन्, राम्रो होला भन्ने हुन्छ । एउटै क्षेत्रका धुर्मुस–सुन्तली जोडी बनेर समाजसेवा गरिरहेका छन् । उनीहरू हाम्रा भाइबहिनी हुन् । हरि दाइ र मदन दाइको त्यति राम्रो जोडी छ । जितु र दमन रूपाखेती फेरि मिलेका छन् । नेताहरू फुट्ने क्रम छ, हामी हास्य कलाकार भने मिल्ने क्रममा छौं । धुर्मुस–सुन्तलीले काम गरिरहेका छन् भने हास्य क्षेत्रका मान्छेले गरिरहेको भनेर गर्व फिल गर्छौं हामी । सलाम छ तिमीहरूलाई ! तर, कलाकारिता भने नछोड ।
‘छक्का पञ्जा’मा भएभरका हास्य कलाकार देखिँदा पनि धुर्मस र सुन्तली देखिएनन् । ‘वडा नम्बर ६’मा पनि धुर्मुसलाई नियतवश कथाभन्दा पहिल्यै मार्नुभएको थियो भनिन्छ । आफूप्रतिको अविश्वास हो कि अरुको सफलता सहन नसकेको ?
यो प्रश्न नसकिँदै दीपाले भनिन्, “खेल्दै नखेलेपछि कसरी देखिन्छ त ?”
हामीले प्रश्न पूरा भएकै छैन भन्यौं । फेरि पनि आधा प्रश्नमै उनले भनिन्, “ओ माई गड ! कस्तो डेन्जर कुरा र’छ यो । ‘वडा नम्बर ६’ हेरिसकेपछि त्यहाँ धुमुर्स मर्नैपथ्र्यो भनेर साथ दिने हातहरू हामीले पाएका थियौं । यो प्रश्न अलि कस्तो–कस्तो लाग्यो मलाई ! धुर्मुसलाई त्यहाँ मारेर हामीले कथालाई बलियो बनाएका छौं, फितलो बनाएका छैनौं । के माओवादीमा गएका सबै मान्छे सबल र सक्षम हुन्थे त ? माओवादी र सेना/प्रहरीबीचको भिडन्तमा माओवादी मर्दैनथे ? हामीले यथार्थलाई नै चलचित्रमा देखाएका छौं । यसले चलचित्रलाई जीवन्त पारेको छ ।
र, अर्को कुरा– त्यहाँ सबैको जोडी हुन्छ । उसको मात्रै जोडी हुँदैन । विवाह गर्नका लागि सबै कुरा मिलिसकेपछि उसमा उत्साह सञ्चार भएकै बेला ऊ दोहोरो भिडन्तमा परेर मर्छ । विवाह गर्छु, गर्छु भनेर धुर्मुसले भनिरहँँदा पूरै चलचित्रको ‘सिम्प्याथी’ बोकेको बेला ऊ मर्छ । विवाहको सबै तयारी भइसकेपछि मान्छेको मृत्यु हुँदाको पीडा देखाइएको छ, नियतवश मारिएको भन्ने गलत हो । यसमा हामी सफल पनि भयौं । धुर्मुस र सुन्तलीलाई ‘माइनस’ गर्ने कुरा त हामी सोच्दै सोच्दैनौं । समाजसेवाका लागि उनीहरू अहिलेका ‘आइडल’ हुन् । कलाकारिताको क्षेत्रमा हरि दाइ, मदन दाइ ‘आइडल’ हुनुहुन्छ । हामीले चाहिँ समाजसेवा र कलाकारिता दुवै क्षेत्र छोडेका छैनौं । दुवै पक्षलाई सँगै लिएर गइरहेका छौं ।”
कहाँ र कसरी समाजसेवा गर्नुभयो ?
म अहिले यो–यो ठाउँमा समाजसेवा गर्र्यौं भन्न सक्तिनँ । आफूले गरेको समाजसेवा आफ्नै मुखबाट भनेको राम्रो हो जस्तो लाग्दैन । तपाईंहरू पत्रकार हो भने खोज्नुस्, पत्ता लगाइहाल्नु हुन्छ नि !
तपाईं पैसाका लागि मरिहत्ते गर्नुहुन्छ भनिन्छ । यतिसम्म कि विदेशमा कार्यक्रमको निम्तो आयो भने गिफ्टको लोभमा मात्रै पनि हुन्छ भनिदिनुहुन्छ रे ! साँचो हो ?
यो प्रश्नमा पनि दीपाले आफ्नो हाँसो थाम्न सकिनन् ।
“हामीलाई कसैले बोलाउँदैछ भने पहिला एग्रिमेन्ट गरेर कति पारिश्रमिक दिने हो, टेबुलमा पैसा राखेपछिमात्रै साइन गर्छौं । नत्र हामी कतै जादैनौं । यति धेरै फोन आउँछ । अहिले भर्खरमात्रै पनि तीजका लागि धेरै कार्यक्रममा आइदिनुप¥यो भन्नुभएको थियो । तर, ती सबै छोड्नुपर्यो, किनभने अहिले ‘छक्का पञ्जा’को प्रचारप्रसारमा छु ।
गिफ्टको कुरा गर्दा यदि तपाईंले भनेजस्तो हो भने अहिलेसम्म म यो क्षेत्रमा टिक्न सक्तिनथें । धेरै कुरा बजारमा आइसक्ने थियो । त्यसले मेरो व्यावसायिक जीवनमा असर गर्ने थियो । यो सरासर भ्रामक हुरा हो ।
‘छक्का पञ्जा’को यति धेरै आक्रामक प्रचारचाहिँ किन ? बोल्नेको पीठो बिकेजस्तो त हैन ?
सुन, चाँदी र हीराको त प्रचार गर्न मान्छे छोड्दैन । आफ्नो कुरा जानकारी गराउन आक्रामकमात्रै होइन, धेरै आक्रामक हुनुपर्छ । हाम्रो बजार यति धेरै सानो छ कि सबैलाई जानकारी दिनैपर्छ । ‘बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान त्यसै बनेको होइन । राम्रो कुरा छ भने पनि राम्रो छ है भनेर दर्शक/स्रोतालाई जानकारी दिनुपर्छ ।
अन्तर्वार्तालाई बिट मार्दै दीपाले भनिन्, “प्रश्न मलाई साह्रै मन परे । केही तीता, केही मीठा । यो दर्शक/स्रोताको मनमा लागिरहेको तर जवाफ नपाइरहेको कुरा पनि हुन सक्छ । यस्ता प्रश्नोत्तर भइरहनुपर्छ । व्यावसायिक र व्यक्तिगत जीवनबारे स्पष्ट हुनुपर्छ ।”
साभारः बाह्रखरी अनलाइन