सुर्खेत, भदौ २० । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले साहित्यकार झमक कुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिबाट दिक्षित गरेसंगै सुर्खेतका राजनीतिक दलहरु र विद्यार्थी संगठनहरुले कडा रुपमा आपत्ति जनाएका छन् ।
राजनीतिक दलहरुले पहिलो दिक्षान्त समारोह केन्द्रीय कार्यालयमा नगरी खर्च बढाएर काठमाडौंमा गरिएको भन्दै आपत्ति जनाएका हुन् । राजनीतिक दलहरुले कार्यक्रममा सहभागिता जनानन् ।
उनीहरुले विशवविद्यालयको पहिलो दिक्षान्त कार्यक्रम केन्द्रीय कार्यालयमा नगरी काठमाडौंमा गरिएको भन्दै कार्यक्रम नै बहिष्कार गरेका हुन । अनावश्यक खर्च बढाएर काठमाडौंमा कार्यक्रम गरिएको प्रति राजनीतिक दलहरुले कडा रुपमा बिरोध जनाएका छन् । मानार्थ विद्यावारिधि जस्तो उच्च सम्मान प्रदान गर्नेवेलामा समेत विश्वविद्यालयका पदाधिकारीहरुले आफूहरुसंग कुनै समन्वय नगरेको भन्दै दलहरुले आपत्ति जनाएका हुन् ।
यस्तै विद्यार्थीहरुले मप विश्वविद्यालयले आफ्ना स्नात्तोकत्तर सकेका विद्यार्थीहरुलाई दिक्षित नगरेर काठमाडौंमा कार्यक्रम गरी घिमिरेलाई दिक्षित गरेको प्रति आपत्ति जनाएका छन् । विद्यार्थी संगठनहरुले घिमिरेलाई गरिएको सम्मानप्रति कुनै बिरोध नगरेको तर मप विश्वविद्यालयका पदाधिकारीहरुको मनोमानी र गैरजिम्मेवार कार्यप्रति रोष प्रकट गरिएको बताएका छन् ।
अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खड्काले विद्यावारिधिको स्वीकृति नलिएको विश्वविद्यालयले मानार्थ विद्यावारिधिको सम्मान गर्न अनौठो भएको बताए । साथै आफ्ना स्नात्तोकोत्तर उत्तीर्ण विद्यार्थीहरुलाई दिक्षित नगरि लोकप्रीयताका लागि काठमाडौंमा कार्यक्रम गरी झमकलाई दिक्षित गरेको उनको भनाई छ ।
यस्तै अखिल क्रान्तिकारी सुर्खेतका अध्यक्ष महेश जिसीले मप विश्वविद्यालयका पदाधिकारीहरुले आफ्नो लोकप्रीयताका भावनात्मक रुपमा झमकलाई मानार्थ विद्यावारिधिको सम्मान सहित दिक्षित गरेको भन्दै आपत्ति जनाए । उनले विश्वविद्यालयका पदाधिकारीहरुले स्नात्तोकोत्तर गरेका आफ्ना विद्यार्थीहरुलाई दिक्षित नगरेर विद्यावारिधिको स्वीकृति नै नभएकोवेला यो नाटक मञ्चल गरेको बताए ।
सबै विषयमा स्नात्तोकोत्तर समेत सञ्चालन नगरेको मप विश्वविद्यालयले साहित्यकार घिमिरेलाई प्रदान गरेको मानार्थ विद्यावारिधिले घिमिरेको पनि अपमान हुने बताइएको छ । विद्याबारिधि सुरु नगरेको विश्वविद्यालयले मानार्थ विद्यावारिधिको सम्मान दिनु उचित नभएको शिक्षा विद्हरुले बताएका छन् ।
साभारः प्रदेशपोष्ट अनलाइन



Prawash Kumar Shakya । २० भाद्र २०७३, सोमबार १५:३८ बजे