सर्वोच्चमा अब मुख्य रजिस्ट्रार


काठमाडौँ, भदौ २१ गते ।  सर्वोच्च अदालतको प्रशासकीय प्रमुखमा मुख्य रजिस्ट्रार चयन गर्ने कानुनी आधार तयार भएको छ ।  संसद्मा विचाराधीन सर्वोच्च अदालत ऐन संशोधन विधेयक पारित भएसँगै कानुनी रूपमा सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद सिर्जना भएको छ ।
नयाँ पद अनुसार अब सर्वोच्चको प्रशासकीय प्रमुख मुख्य रजिस्ट्रार हुनेछ ।  विधेयक पारितसँगै सर्वोच्चलाई प्रशासनिक रूपमा पहिलोपटक मुख्य रजिस्ट्रार राख्ने प्रक्रिया अगाडि बढाउन कानुनी बाटो तयार भएको हो ।
प्रशासन र संसद् सेवामा मुख्य सचिव र महासचिवको व्यवस्था भएको तर न्यायालयको प्रशासनिक प्रमुख रजिस्ट्रार रहँदै आएकोमा समान तह बनाउनका लागि विधेयकमा मुख्य रजिस्ट्रारको व्यवस्था गरिएको थियो ।
सर्वोच्च अदालतको मूल ऐनको दफा ९ खारेज गरी नयाँ व्यवस्था विधेयकले प्रस्ताव गरेको थियो ।  प्रस्तावित व्यवस्थासहितको संशोधन सोमबारको व्यवस्थापिका संसद्ले पारित गरेको हो ।  मुख्य रजिस्ट्रार सर्वोच्चको प्रशासकीय प्रमुख हुनेछ ।  मुख्य रजिस्ट्रार प्रधानन्यायाधीशको निर्देशनमा रही प्रशासनिक कामकारबाही गर्नेछ ।
साभारः गोरखापत्र अनलाइन