तिलौराकोटमा दरवार संरचनाको भग्नावशेष भेटियो


काठमाडौं-भगवान बुद्धको जन्म हुँदा राजा शुद्धोधनको दरबार रहेको तिलौराकोटको उत्खननबाट दरवारको भग्नावशेषका संरचना प्राप्त भएको पुरातत्व विभागले जनाएको छ।
जापानिज फण्ड इन ट्रष्टसंस्थाको आर्थिक र प्राविधिक सहयोगमा एक हप्ता अगाडिदेखि शुद्धोधनको राज्य कपिलवस्तुको राजधानी रहेको तिलौराकोटको उत्खनन कार्य भइरहेको छ। उत्खननका क्रममा पाइएका संरचनाले राजा शुद्धोधनको झन्डै दुई हजार ६०० वर्ष प्राचीन दरबारको भग्नावशेषका रुपमा रहेको ठूलो गाह्रो र जगको भाग भेटिएकाले थप प्रमाणका लागि उत्खनन भइरहेको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।

यसअघि गरिएको भूभौतिक सर्वेक्षणबाट नै दरबारको संरचना देखिएको थियो एक हप्ताअघिदेखि सुरु भएको उत्खननबाट त्यसलाई थप पुष्टि गरेको छ, बुद्धको जन्मस्थल भारत हो भनेर दाबी भइरहेको सन्दर्भमा ठोस आधारका लागि थप उत्खनन भएको हो‘,उनले भने।

उत्खननमा विभागको पुरातत्व शाखा, त्रिभुवन विश्वविद्यालय पुरातत्व विषयका प्राध्यापक एवम् विद्यार्थी, लुम्बिनी विकास कोषका कर्मचारी, युनेस्कोका प्रतिनिधि, बेलायतको डुरहाम विश्वविद्यालयका प्राध्यापक रोविन कोनिङ्घम नेतृत्वको समूह र नेपालका पुरातत्वविद् कोषप्रसाद आचार्यलगायत सहभागी रहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।

उत्खनन कार्य फागुन १५ गतेसम्म सञ्चालन हुनेछ। पाइएका प्रमाणका आधारमा विश्लेषण गरेर तथ्य सार्वजनिक गरिनेछ‘, उनले भने।

साभारः नागरिक न्यूज