
५ फागुन, सुर्खेत । सरकार ले ‘एक गाविस एक कृषी प्राविधिकको अवधारणा ल्याए पनि मध्यपश्चिममा कृषी प्राविधिकको संख्या न्यून रहेको छ । नयाँ बजेटपछि सरकारले पाँच सय नयाँ कृषी प्राविधिकको कोटा बढाएको थियो । यस अनुसार मध्यपश्चिममा थप ७१ जना कृषी प्राविधिक थपिएको क्षेत्रीय कृषी निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार अहिले यस क्षेत्रमा एक प्राविधिक बराबर एक हजार एक सय ८४ कृषक परिवार परिरहेको छ । बाँकेमा भने १ प्राविधिकले २ हजार परिवारलार्इ हेर्दै आएका छन् । मध्यपश्चिमका १५ जिल्ला मध्ये नौ जिल्लाको उत्पादनले त्यहाँका बासिन्दालार्इ वर्षभरि खान नपुग्ने देखिएको छ । कर्णाली अञ्चलका पाँच जिल्ला तथा भेरी र राप्ती अञ्चलका प्युठान, रोल्पा, दैलेख र जाजरकोट जिल्लामा खाद्य न्यून उत्पादन हुने निर्देशनालयको रकेर्डले देखाएको छ ।
बाँके, बर्दिया,सुर्खेत, दाङ्ग, सल्यान र रुकुम जिल्लाको उत्पादनले त्यहाँका बासिन्दालार्इ खान पुग्ने गरेकोछ । कुल क्षेत्रफल ४३ लाख २८ हजार दुर्इसय चार हेक्टर रहेको मध्यपश्चिममा पाँच लाख ८२ हजार चारसय १२ हेक्टर अर्थात १३.४५ प्रतिशत खेती योग्य जमिन भएको निर्देशनालयले बताएको छ । त्यसमा चारलाख ६० हजार तीनसय ९० (७९.०४ प्रतिशत) हेक्टरमा खेती गरिएकोछ । खेती गरिएको मध्ये एकलाख ५५ हजार नौसय १४ हेक्टर (३३.८६ प्रतिशत) जमिन सिंचित रहेको छ ।
क्षेत्रीय कृषी निर्देशक शिवनारायण चौधरीका अनुसार मध्यपश्चिममा ६ सय आठ जना कर्मचारीको दरबन्दी रहेकोमा चारसय ६९ मात्रै पूर्ति छ । बाँकी एकसय ३९ जना रित्त रहेको छ । सरकारले एक गाविस एक कृषी प्राविधिकको अवधारणा अनुसार जेटीए स्तरका कर्मचारीलार्इ गाउँमा खटाइ रहेको जिल्ला कृषी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा अहिले १४ गाविसमा कृषी प्राविधिक रहेका छन् । मध्यपश्चिममा अहिले ५६ जना मात्रै प्राविधिक रहेकोले सरकारको निर्देशन अनुसार विभिन्न कार्यालयले करारमा प्राविधिक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको कृषी विकास कार्यालय बाँकेका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए । क्षेत्रमा आएको ७१ जनाको टोलीलार्इ जिल्लागत बाँडिएको छ । यसरी हेर्दा बाँके मा ५, बर्दियामा ७ जना छन् । बाँकेको खासकुश्मा, बैजापुर, गंगापुर, हिरमिनिया, राधापुरमा प्राविधिक खटार्इएको छ भने अन्य ९ वटा गाविसमा प्राविधिक पठाउने तयारी भैरहेको बस्नेतले बताएका छन् ।



Prawash Kumar Shakya । ५ फाल्गुन २०७३, बिहीबार १६:१७ बजे