मनपरी भाडा असुली कर्णाली राजमार्गमा


सहुलियत पाउँदैनन् पाउनेले पनि

अविरल ढकाल
फागुन २६, जुम्ला ।

कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडादर भन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा भाडादर निर्धारण गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी कार्यालय जुम्लाको पहलमा भएको छलफलमा भाडादर कायम भएको एक वर्ष बितिसक्दा पनि यातायात व्यवसायीले मनपरी भाडा असुल्न छोडेका छैनन् । यातायात व्यवस्था कार्यालयका प्रमुख मित्रलाल ढकालले भाडादर कार्यान्वयनमा नआएको बताउनु भयो । ‘कर्णाली राजमार्गमा भाडादरमा एकरूपता आएको छैन, व्यवसायीले भाडादर कार्यान्वयनमा ल्याएका छैनन्’ ढकालले भन्नुभयो ।

जुम्लाबाट सुर्खेत, नेपालगन्ज र काठमाडौंका लागि यातायातका साधनहरू चल्छन् । सुर्खेत र नेपालगन्जसम्म बसका साथै साना सवारीसाधन जिप, माइक्रोबस पनि चल्ने गरेका छन् । यातायात व्यवस्था कार्यालय जुम्लादेखि सुर्खेतसम्म प्रतियात्रु ८ सय, १९, नेपालगन्जसम्म १ हजार, ६९ र काठमाडौ सम्म २ हजार रुपैयाँ भाडा तय गरिएको छ, तर यातायात व्यवसायीले यात्रुअनुसार भाडा लिने गरेका छन् । जसबाट जतिसक्यो, त्यति लिने गरेको यात्रुको गुनासो छ । उनीहरूले जुम्लाबाट सुर्खेत सम्म जिपले २ हजार र बसले १ हजार, ६ सय रुपैयाँ लिन्छन् । त्यस्तै जुम्लाबाट नेपालगन्जसम्म जिपले २ हजार र बसले १ हजार, २ सय लिन्छन् । जुम्ला–काठमाडौं बस मात्रै चल्छन्, तिनले प्रतियात्रु २ हजार, ८ सय, ५० रुपैयाँ लिने गरेका छन् ।

कर्णाली यातायात व्यवसायी संघ जुम्लाका अध्यक्ष मीनबहादुर थापा भाडादरमा एकरूपता नभएको स्वीकार्नुहुन्छ । साना–ठूला सबैखाले सवारीसाधनले मनपरी भाडा असुल्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘सबै यातायात व्यवसायी समिति जुम्लाभन्दा बाहिरका छन्, हामीले नियन्त्रण गर्ने अवस्था छैन । कर्णाली राजमार्गमा कर्णाली, गो कर्णाली, चन्दननाथ, सनराज, बुलबुलेलगायत एक दर्जनभन्दा बढी यातायात व्यवसायी समितिका सवारीसाधन चल्छन् । भाडादर कार्यान्वयनमा स्थानीय प्रशासनले वास्ता नगरेको कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष थापाको भनाई छ । ‘यो विषय नियमन गर्न पटक–पटक सिडियोसाप र यातायात व्यवस्था कार्यालयलाई अनुरोध ग¥यौँ, ध्यानै दिँदैनन्’, उहाँले भन्नुभयो । यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति हुन्छ ।

काउन्टरमा काटिन्न टिकट

यातायात व्यवसायी समितिहरूले जुम्ला बसपार्कमा काउन्टर राखेका छन् । बाटोमा पनि ठाउँ–ठाउँमा काउन्टर छन् । तर, काउन्टरमा टिकट काट्ने भने गरिएको छैन । मनपरी भाडा लिने गरेकाले काउन्टरमा टिकट काट्ने गरिएको छैन । यसले ट्राफिक प्रहरीलाई छल्न सजिलो हुने गरेको छ । उनीहरूले ट्राफिक बिट नजिक यात्रुलाई ओरालेर हिँड्न लगाउने गरेका छन् । ट्राफिक प्रहरीले पनि सामान्य जरिवाना गराएर छोड्ने गर्छन् ।

सहुलियत छैन यातायातका साधनमा

विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई टिकटमा सहुलियत दिइन्छ । कर्णाली राजमार्गमा भने कसैलाई पनि भाडादरमा छुट दिने गरिएको छैन । जुम्लाबाट नेपालगन्ज, सुर्खेत तथा काठमाडौं यात्रा गर्दा पनि छुट नपाएको हिमा गाउँपालिकाको खलढुंगाका सूर्य अधिकारीले गुनासो सुनाउनुभयो । ‘अपांग हुँ, परिचय पत्र पनि देखाउँछु, तर कसैले छुट दिँदैनन, अधिकारीको पीडा छ । विद्यार्थीलाई पनि भाडादरमा छुट नदिने गरिएको अनेरास्ववियु जुम्लाका सचिव भरत नेपालीले बताउनुभयो । ‘विद्यार्थी परिचय पत्र देखाउँदा पनि यातायात व्यवसायीले छुट दिँदैनन्’, नेपालीले भन्नुभयो । स्थानीय प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको उहाँको आरोप छ ।
कर्णाली राजमार्गमा चल्ने सवारीसाधनमा ज्येष्ठ नागरिक, अपांग तथा महिलाका लागि सिट छुट्याइएको पनि हुँदैन । ‘उभिएर जानुपर्ने अवस्था छ’, ज्येष्ठ नागरिक संघ, जुम्लाका अध्यक्ष तीर्थराज भारतीले दुखेसो पनि उस्तै छ ।