काठमाडौँ, असार ४ – कर्णालीबाट राजधानीसम्मको ३१ दिनको पैदल यात्रा पूरा गरेका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहराको अभियानलाई सांसद हृदयराम थानीले समर्थन जनाउनुभएकव छ । भ्रष्टाचार, अनियमितता र प्रणालीगत बेथितिविरुद्ध आवाज उठाउँदै सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आइपुग्नुभएका बोहरासँग सांसद थानीले हालै भेट गर्नुभएको छ । भेटपछि थानीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारसँग नवराज बोहराको आवाज सुन्न आग्रह गर्नुभयो ।
“भ्रष्टाचार र अनियमितता विरुद्धको अभियानमा म उहाँसँग पूर्णरूपमा एकमत छु,” सांसद थानीले आफ्नो फेसबुकमा लेख्नुभएको छ । उहाँ भन्नुहुन्छ “उहाँले उठाएका विषयहरू व्यक्तिगत मात्र होइनन्, यो त सम्पूर्ण कर्णालीवासीको आवाज हो, सरकार यसलाई बेवास्ता गर्न सक्दैन।”
थानीका अनुसार नवराज बोहराले समाज रूपान्तरणको पक्षमा बहादुरीपूर्वक उठाएको आवाज राज्यको ध्यानाकर्षणका लागि अत्यन्त जरूरी छ। उहाँले थप्नुभयो, “समाज परिवर्तनका लागि नवराजजस्ता युवाको साहस, आँट र संकल्प प्रेरणादायी छ ।” सांसद थानीले सरकार र सम्बन्धित निकायहरूलाई बोहराले प्रस्तुत गरेका माग, प्रश्न र चिन्तनलाई गम्भीरतापूर्वक लिनु पर्ने धारणा व्यक्त गर्नुभएको छ ।
भ्रष्टाचारविरुद्ध जनस्तरमा चलिरहेको दबाब अभियानलाई थप सशक्त बनाउने उद्देश्यले नवराज बोहराले राजधानीसम्मको यात्रा गर्नुभएको हो । सामाजिक सञ्जाल तथा नागरिक समाजमा उहाँको यो पहलप्रति सकारात्मक चर्चा भइरहेको छ ।
यसअघि राजधानी आइपुगेपछि पनि नवराज बोहराले प्रधानमन्त्रीसँग भेट गर्न प्रयास गर्नुभएको थियो तर प्रधानमन्त्री सँग भेट हुन सकेको छैन् ।




Prawash Kumar Shakya । ४ असार २०८२, बुधबार १६:५२ बजे